३१ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

एमालेले ‘एम अधिकारी’ देखाउन सकेन, मनोज सम्पर्कविहीन बनेपछि थप तनाव !

बाबुराम पार्टीबाट निष्काशित
एमालेले ‘एम अधिकारी’ देखाउन सकेन, मनोज सम्पर्कविहीन बनेपछि थप तनाव !

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ नेतामाथि उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेको छ । पार्टीको अनुशासन उलंघन गरेको ठहरसहित यादव समूहको वीरगन्जमा बसेको बैठकबाट कारबाहीको घोषणा भएको हो । 

वन तथा वातावरणमन्त्री समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवले वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जनालाई तत्काल पदमुक्त गर्ने निर्णय पारित गरेको जानकारी दिए । कारबाहीमा पर्नेमा भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, प्रशान्त सिंह, हिसिला यमी, गंगानारायण श्रेष्ठ, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । उनीहरुमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप छ । पार्टी विभाजनको संघारमा रहेका बेला भट्टराई समूहले काठमाडौंमा छुट्टै भेला गरेको थियो भने उपेन्द्र यादव पक्षले भने वीरगन्जमा बैठक राखेको थियो ।
००००
नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् । एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो ।

यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् ।
यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले एमाले पार्टीको तर्फबाट आएको आग्रहअनुसार ‘एम अधिकारी’ बनिदिन मनाएका थिए ।
स्रोतका अनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारो पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुर्पयो, त्यसबापत पछि पार्टीले हेर्छ,’ भनेर सुवेदीले आग्रह गरेपछि शुरूमा मनोज तयार पनि भएका रहेछन् ।

मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएका हुन् । २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिष्ट लीग वाइसीएलका संयोजक सुमन देवकोटाले गभर्नर अधिकारीविरुद्ध बिहीवार अख्तियारमा उजुरी दिएका हुन् । विद्यार्थी संगठनले बिहीबार नै माइतीघरमा प्रर्दन पनि गरेका छन् । 
००००
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छद्म भेषमा पार्टीको विभागमा बसेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । २०७३ सालमा एमालेको अर्थ र योजना विभागमा रहेका महाप्रसाद अधिकारी अहिले एम अधिकारीको रूपमा रूपान्तरण भएको सबैको बुझाई रहेको उनले बताए ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेता श्रेष्ठले एम अधिकारीको सम्बन्धमा गभर्नर र एमालेले विश्वासिलो जवाफ दिन नसकेको भन्दै राजीनामा दिन सुझाव दिए ।
००००
यसैबीच नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ । गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो ।
००००
प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल  र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ ।
००००
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो । विधेयकमाथि छलफल जारी छ ।
००००
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ ।     
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ । प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदैछन् । 
००००
काँग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक शनिबारका लागि तय गरिएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी दिए ।

००००
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको बिहीवारको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल ‘जीवन’ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।   
अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए भने असार २२ गते विनियोजन विधेयक  प्रस्तुत गरेका थिए ।
००००
१ नम्बर प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले अगाडि सारेका नाममा पार्टीभित्र नै विवाद देखिएको छ । गत शुक्रवार मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरणका विषयमा शुक्रवार सर्वदलीय बैठक आह्वान गरेका थिए । त्यो बैठकमा एमालेले ‘कोशी’ नाम प्रस्ताव गरेको थियो, कांग्रेसले कुनै पनि नाम प्रस्ताव गरेको थिएन । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक सूर्यमाराज राईले कांग्रेस सबैलाई मिलाउने पार्टी भएकाले अरूले ल्याएको नामलाई समर्थन गर्न सकिने बताएका थिए । त्यसको भोलिपल्ट नै प्रमुख सचेतक राईले पत्रकारसँग कुराकानी गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्न पार्टीले पहल गर्ने बताए । तर राईले प्रस्ताव गरेको नामप्रति कांग्रेसकै सांसदहरूले विरोध गरिरहेका छन् ।
००००
नागरिक समाज तथा पीडित समुदायलाई प्रतिनिधित्व गर्ने संस्थाहरूले संक्रमणकालीन न्याय संयन्त्रसम्बन्धी कानून संशोधनका विषयमा आरम्भिक सुझाव कानूनमन्त्री गोविन्द कोइरालालाई बिहीवार बुझाएका छन् । 
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग ऐन, २०७१ को संशोधनको विषयमा सीमित रहेर दफावार रूपमा देहायबमोजिम प्रारम्भिक सुझावहरू तयार गरी नेपाल सरकार समक्ष प्रस्तुत गरेको उनीहरूले जानकारी दिएका छन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हालेलगत्तै गठन गरेको एक समितिले पर्यटन क्षेत्रको पुनरुत्थान कार्ययोजना तयार पारेको छ । 
‘नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समिति’ले मन्त्री श्रेष्ठलाई कार्ययोजनासहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरूले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
००००
कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना भाइरस संक्रमित थप भएका छन् । 
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये २६० जनामा संक्रमण पुष्टि हो ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र ुलिकु गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । बिहीवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानूनअनुसार कारबाही हुने बताए ।
००००
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ई–स्पोर्टस्को बजेटबारे अतिरञ्जित र अनैतिक समाचार प्रकाशित भएकोमा आपत्ति जनाएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया जनाउँदै मेयर शाहले पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गरेका छन् ।
००००
करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७–७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पार्टीले गाई माग्दै बिहीवार सर्वोच्चमा रिट दायर गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा नेपालले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्