नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।
शुक्रवार भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण आकस्मिक नभएको दाबी गरेका हुन् । आफू भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निम्तोमा भारत जान लागेको जानकारी दिँदै उनले आफ्नो भारत भ्रमण सद्भावना भ्रमण भएको बताए ।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको दाबी गरेका छन् । यो संयोग मात्र भएको उनको दाबी छ ।
तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले आफूलाई भारत भ्रमणको प्रस्ताव गरेको जानकारी दिँदै उनले भने, ‘उनी सचिव भएपछि फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको थिएँ, त्यही अनुसार यो भ्रमण हुन लागेको हो । आकस्मिक होइन ।’
अध्यक्ष प्रचण्डले भारत भ्रमणलाई लिएर आफू निकै उत्साहित भएको पनि बताएका छन् । उनले यो भ्रमण देशकै लागि महत्वपूर्ण भएको बताए । ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’
अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि शुक्रवार नयाँदिल्ली प्रस्थान गरेका छन् । उनले भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
ती भेटहरूमा व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने उनले बताए ।