२८ जेठ २०८३, बिहीबार
प्रचण्डको भारत भ्रमण

प्रचण्डको भारत भ्रमणले झस्किएको एमाले– चुनावपछि पनि प्रतिपक्षमै बस्नुपर्ने त्रास !

साउन ३, २०७९
प्रचण्डको भारत भ्रमणले झस्किएको एमाले– चुनावपछि पनि प्रतिपक्षमै बस्नुपर्ने त्रास !

नेपालमा सन्निकट संसदीय चुनावअघि सत्तारुढ गठबन्धनका ‘खेलाडी’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेका छन् । 

नेपालको आन्तरिक राजनीतिमा भारतले देखिने गरी हस्तक्षेप गर्दै आएको छ । त्यसमाथि पनि गठबन्धनभित्र चुनावी तालमेलको हिसाबकिताब हुने समयमा भएको प्रचण्डको भारत भ्रमणले नेपालको राजनीतिक वृत्त तरङ्गित छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले आगामी चुनाव र त्यसपछिको सरकारमा पनि वर्तमान गठबन्धन जारी रहने आश्वासन दिएका आएका छन् ।

प्रचण्डले दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘भारतीय नेताहरूसँग पनि अहिले कुनै सरप्राइज हुँदैन भनेको छु । यही गठबन्धन जान्छ । संविधान र लोकतन्त्रको रक्षा तथा जनताको विकासको आकांक्षालाई सम्बोधन गर्ने दिशामा अहिलेकै गठबन्धनले काम गर्छ ।’ 

प्रचण्डले भारतीय नेता तथा सरकारी अधिकारीहरूसँग आगामी चुनावमा अहिलेकै पाँचदलीय गठबन्धन जारी राख्ने वचन दिएर फर्किएका छन् । उनले यस्तो वचन दिएबापत प्रचण्ड र गठबन्धनले भारतीय पक्षबाट के प्राप्त गर्छ त्यो चाहिँ समयक्रमसँगै खुल्दै जाला तर, प्रचण्डको भारत भ्रमण र उनको प्रतिक्रियाले नेकपा एमाले भने झस्किएको छ । 

प्रचण्ड भारत भ्रमण सकेर फर्किएपछि उनको भ्रमणबारे हामीले एमाले नेताहरूको मन बुझ्ने प्रयास गरेका थियौं । यसका लागि एमालेको सचिवालय तहका ३ जना र स्थायी कमिटीमा रहेका ३ जना नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गरेका छौं । 

उनीहरूसँगको कुराकानीबाट आएको साझा निष्कर्ष हो– नेपालको वामपन्थी आन्दोलन बिगार्न प्रचण्ड प्रयोग भए र त्यसको बदलामा चुनावपछिको प्रधानमन्त्री पद सुनिश्चित गरेर फर्किए ।

एमाले नेताहरूको थप विश्लेषण छ, ‘प्रचण्ड आफ्नो भविष्य सुरक्षित गर्न भारत भ्रमणमा गएका थिए । त्यहाँ उनले जो-जोसँग भेटे उनीहरूसँग आगामी चुनावसम्म देउवाकै नेतृत्वको सरकार कायम राख्ने र चुनावपछिको आधा कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति गरेका आएका छन् ।’ 

सत्तारूढ गठबन्धनकै कारण स्थानीय चुनावमा धक्का खाएको एमाले संसदीय चुनावमा थप कमजोर बन्ने मनोदशामा एमालेका नेताहरू छन् । संसदीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन सक्ने तर, एमालेलाई एक्ल्याएर पाँच दलको गठबन्धन बनाउँदा असाध्यै थोरै सीटमा चित्त बुझाउनुपर्ने डरमा एमालेका नेताहरू छन् । 

आगामी चुनावसम्ममा वर्तमान सत्तारूढ गठबन्धन भत्काउन सकिन्छ कि भन्ने प्रयासमा रहेको एमालेका केही नेताहरू प्रचण्डको भारत भ्रमणपछि गठबन्धन झन कसिलो भएको निष्कर्षमा पुगेका छन् । 

एमालेका एक नेताले भने, ‘अहिले सरकार परिवर्तनको हावा पनि चलिरहेको थियो । एमाले र माओवादी केन्द्रभित्र वामपन्थी तालमेलको विषय उठान भइरहेको पनि थियो । दुवै पार्टीबाट लबिङ हुन थालेको थियो । प्रचण्डको भारत भ्रमणपछि अब यी कुराको औचित्य नरहने सम्भावना देखिन्छ ।’  

अर्कातर्फ एमाले नेताहरूले प्रचण्डको भारत भ्रमणपछि नेपालको राजनीतिमा भारतीय जनता पार्टी (भाजपा)को सक्रिय उपस्थिति हुन सक्ने विश्लेषण सुनाए । 

‘उहाँ भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । त्यहाँ उहाँको भेटवार्ता पनि सोही पार्टीका नेताहरूसँग मात्रै भयो । यसले नेपालको राजनीतिमा भारतको सत्तासीन पार्टीको भूमिका स्थापित गर्ने प्रयासमा भएको देखिन्छ’, एमालेको सचिवालय तहका एक नेताले बताए । 

एमालेका नेताहरूले बताएअनुसार प्रचण्ड तीन उद्देश्यका लागि भारत भ्रमणमा गएका थिए । पहिलो थियो, चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख नेतृत्वले टोलीले बताएको कुरा भारतीय अधिकारीहरूलाई सुनाउनु । दोस्रो, पाँचदलीय गठबन्धनको अहिलेसम्मका उपलब्धि र आगामी योजना बताउनु र तेस्रो, चुनावपछिको सरकारको प्रधानमन्त्री सुनिश्चित गर्नु । 

एमालेका नेताहरू अहिलेको सत्तारूढ गठबन्धन नै भारतले बनाइदिएको दाबी गर्छन् । केपी ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारत रूष्ट भएको र एमाले र ओली विरोधी गठबन्धन बनेको एमाले नेताहरू दाबी गर्छन् । तर, सत्तारूढ गठबन्धन भने यसलाई नकार्दै आएको छ । यहाँ स्मरणीय कुरा के पनि हो भने नयाँ नक्सा जारी गर्न तत्कालीन सरकारलाई पार्टीले नै निर्देशित गरेको थियो । तत्कालीन नेकपामा चुच्चे नक्सा जारी गर्ने निर्णय गराउनमा प्रचण्ड र माधव नेपाल समूहको मुख्य भूमिका थियो ।

एमालेका नेताहरूमा देखिएको मुख्य छटपटीचाहिँ आगामी निर्वाचनमा एमालेविरुद्ध कायम रहने पाँचदलीय गठबन्धन नै हो ।

सत्तारूढ गठबन्धनकै कारण स्थानीय चुनावमा धक्का खाएको एमाले संसदीय चुनावमा थप कमजोर बन्ने मनोदशामा एमालेका नेताहरू छन् ।

संसदीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन सक्ने तर, एमालेलाई एक्ल्याएर पाँच दलको गठबन्धन बनाउँदा असाध्यै थोरै सीटमा चित्त बुझाउनुपर्ने डरमा एमालेका नेताहरू छन् । 

एमालेका नेताहरूले दाबी गरेजस्तै प्रचण्डले आगामी निर्वाचनपछिको प्रधानमन्त्री पद सुनिश्चित गरेर आएको हो भने निर्वाचनपछि पनि अहिलेकै गठबन्धन कायम रहने छ । प्रचण्डले भारतबाटै नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पनि आलोपालो प्रधानमन्त्रीबारे छलफल हुने बताएका छन् ।

त्यसो हुँदा एमालेका लागि आगामी निर्वाचनपछि पनि प्रतिपक्षको कुर्सी मात्रै उपलब्ध हुनेछ ।

अहिलेजस्तै सत्ताको हालीमुहालीमा प्रचण्ड हुनेछन् । एमालेले जे नहोस् भन्ने चाहिरहेको छ, प्रचण्डले भने त्यसैलाई सुनिश्चित गराइरहेका छन् । 

एमालेको सचिवालय तहका अर्का नेताले प्रचण्डको भारत भ्रमण चीनको काउन्टरमा भएको दाबी गरे । ‘काठमाडौंमा आएर उनीसँग भेट गरेका चिनियाँ नेता नफर्किँदै प्रचण्डको भारत भ्रमण भयो । चिनियाँ नेताले बताएको कुरा सुनाउन पनि उहाँ हतारिनुभएको जस्तो देखियो । प्रचण्डको अहिलेको भ्रमण चीनको काउन्टरमा भएको हो’, ती नेताले दाबी गरे ।

नेपालमा राजनीतिक स्थिरता हुन नदिने पश्चिमा देशहरूको चाहनामा भारतको पनि स्वार्थ मिलेकाले गठबन्धनलाई प्रयोग गर्न खोजेको एमाले नेताहरूको व्याख्या छ ।  

‘मुलुकलाई स्थिरतामा जान नदिनका लागि विदेशीहरूले प्रयास गरिरहेका छन् । अस्थिरता हुँदा उनीहरूको स्वार्थ पूरा हुन सक्छ । देशलाई अस्थिर बनाउने पात्रको रूपमा प्रचण्डलाई प्रयोग गर्न खोजिएको पनि हुनसक्छ’, एमालेको सचिवालय तहका एक नेताले भने । 

एमालेलाई सत्ता बाहिर राख्ने र एक्ल्याउने प्रयास निरन्तररूपमा भइरहेको र प्रचण्डको भारत भ्रमण पनि त्यसैको एउटा शृङ्खला भएको एमाले नेताहरू बताउँछन् ।

प्रचण्डको दाउपेच र चलखेलका कारण कुनै न कुनैरूपमा दुई देशको सम्बन्धमा असर पर्ने, नेपालको सार्वभौमिकता र राज्य व्यवस्थामा समेत प्रभाव पर्न सक्ने विश्लेषण ती नेताको छ ।

पश्चिमा देशहरूले नेपालमा वामपन्थी पार्टीहरूबीच एकता र सहकार्य नहोस् भन्ने चाहेको र त्यसमा भारत पनि सहमत भएको एमालेको स्थायी कमिटी सदस्य रहेका एक नेताले बताए ।

‘नेपालमा पश्चिमा देशहरूले वामपन्थी शक्ति मिलेको राम्रो मान्दैनन् । अहिले अमेरिकाले गठबन्धनको काँधमा राखेर बन्दुक पड्काइरहेको छ । त्यसमा भारतको पनि साथ छ । नेपालमा कम्युनिष्ट शक्तिलाई कमजोर बनाउने र विशेषगरी एमालेलाई किनारामा पुर्‍याउने उद्देश्यअनुरूप प्रचण्डको भारत भ्रमण भएको छ’, ती स्थायी कमिटी सदस्यले भने ।  


एमालेलाई सत्ता बाहिर राख्ने र एक्ल्याउने प्रयास निरन्तररूपमा भइरहेको र प्रचण्डको भारत भ्रमण पनि त्यसैको एउटा शृङ्खला भएको एमाले नेताहरू बताउँछन् ।

‘अहिले प्रतिगामी गठबन्धन बनेको छ । यही गठबन्धनका कारण राष्ट्रियतामा खतरा परिरहेको छ । विदेशीलाई नेपालमा भित्र्याउने काम भएको छ । अमेरिकाको पक्षमा नेपाललाई लैजाने काम भएको छ । त्यसलाई सच्याउनका लागि अहिलेको गठबन्धन भत्किनु आवश्यक छ’, एमालेका नेताहरू भन्छन्, ‘कम्युनिस्ट शक्ति मिल्न नदिनेहरूले प्रचण्डलाई प्रयोग गरिरहेका छन् । उनी प्रयोग भइरहेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्