२६ असार २०८३, शुक्रबार

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल, एनएसजेएफ ५-४ गाेल अन्तरले विजयी

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल, एनएसजेएफ ५-४ गाेल अन्तरले विजयी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो । उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । ​

मन्चको तर्फबाट बासु अवाल र दिल तामाङले समान दुई गोल गरे । अभिनव जोशीको नाममा एक गोल रह्यो ।  अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गरे । नीराजन श्रेष्ठ र नरेश खड्काले १÷१ गोल थपे । उक्त मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ’अथक’ ले उद्घाटन गरेका थिए । 

विजेता मन्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे । सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए । 

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रसंशा गरे । 

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरेका थिए । 

सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्