३१ जेठ २०८३, आइतबार

पानी नपरेपछि रोपेको धान सुक्यो, बाँकेमा जम्मा ४० प्रतिशत रोपाइँ

पानी नपरेपछि रोपेको धान सुक्यो, बाँकेमा जम्मा ४० प्रतिशत रोपाइँ

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँकेका विभिन्न स्थानमा रोपिएका धान सुक्न लागेका हुन् । 

खेतमा रोपिसकेका धान सुक्न थालेपछि केही किसानले धान जोगाउने उपाय खोजिरहेका छन् । सिँचाइको सुविधा नपुगेका क्षेत्रका किसानले वैकल्पिक माध्यमबाट खेतमा पानी पुर्‍याउने उपाय खोजिरहेका छन् । बाँके जानकीका किसानहरू ढलको पानी सिँचाइ गरेर धान रोपेका छन् । 

जानकी ३ बाँकेका किसान बिर्जाप्रसाद जरवटले रोपेको धान पानी नपरेका कारण खेतमा सुक्दै गएको बताए । उनले समयमा मलखाद पनि नपाएको गुनासो सुनाउँदै सिँचाइको प्रबन्ध नभएकाले किसान मारमा परेको बताए । सिँचाइ सुविधा नभएपछि पम्पिङसेटबाट नालाको पानीले हाली रोपेको धान पनि सुक्न थालेको अर्का किसान दीलिपकुमार जरवटले बताएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँके जिल्लामा ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको केन्द्रले जनाएको छ । गत वर्ष यो अवधिमा झन्डै ९० प्रतिशत धान रोपाइँ भएको थियो । 

कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराईका अनुसार असार १५ ताका परेको पानीले रोपेको धान पनि सुक्न थालेको छ । आकाशबाट पानी नपरेका कारण खोला नालामा पनि पानी सुक्दै गएकाले धान रोप्न समस्या भएको उनले बताए । 

राप्ती नदी, खोलानाला र सिक्टा सिँचाइको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपाइँ भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्