
सडक दुर्घटनामा परी महोत्तरीमा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा बुधवार पेट्रोलपम्प नजिकै २ मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा जिल्लाकै औरही नगरपालिका–२ का २४ वर्षीय विवेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।
दुर्घटनामा प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतक र घाइते दुवै एउटै मोटरसाइकलमा सवार हुन् ।
दुर्घटनामा घाइते कृष्ण यादवलाई गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।