
राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व संकलन गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा ४ करोड १७ लाख ६४ हजार ९२ राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयले ६ करोड ८४ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करीब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्यांकले सबैभन्दा बढी असोजमा ५७ लाख ९६ हजार रुपैयाँ र सबैभन्दा कम चैतमा १९ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको देखाएको छ ।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट आव २०७८/७९ मा सो परिमाणको राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले जानकारी दिए । उनले आव २०७८/७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५८७, नेपाल प्रहरीले ४६३ र भन्सार कर्मचारीबाट १४ गरी कूल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकामा २०० मुद्दाको लिलामी कार्य सम्पन्न भएको जानकारी दिए ।
अन्य ४९९ मुद्दा टुंग्याउने सम्पूर्ण तयारी पूरा गरिएको र केही दिनमै प्रक्रियाअनुसार लिलाम गरिने झाले जानकारी दिए ।
भारतसँग खुला सिमाना भएका कारण व्यापकरूपमा चोरीपैठारी हुने गरेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख झाले बताए । उनले दरबन्दीअनुसार कर्मचारी समेत अभाव रहेको बताए ।
भन्सार कार्यालयमा जम्मा १ भन्सार अधिकृत, २ नायब सुब्बा र १ कम्प्युटर अपरेटर रहेका छन् । करारमा ४ कार्यालय सहायकमध्ये २ छोटी भन्सारमा र २ अस्थायी पैठारीमा राख्ने गरिएको झाले बताए ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालयमध्ये हाल बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् । दुवै छोटी भन्सारबाट लगातार अपेक्षाअनुसारको राजस्व संकलन हुन सकेको छैन । व्यापक मात्रामा चोरीपैठारी हुने गरेको जनाएका कार्यालय प्रमुख झाले कुन वर्ष अवैध व्यापार कति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताए ।
भारतसँग खुला सिमाना भएका कारण कूल व्यापारको आधाभन्दा बढी हिस्सा अवैध हुने गरेको नागरिक समाजका अध्यक्ष तथा कपडा व्यापारी थानसिंह भन्सालीले बताए ।
भन्सार कार्यालय प्रमुख झाका अनुसार राजविराज भन्सार कार्यालयले आव २०७९/८० का लागि ५ करोड ९९ लाख ३० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । त्यसमध्ये भन्सार आयात शुल्कतर्फ ३ करोड ४४ लाख ९ हजार, मूल्य अभिवृद्धि करतर्फ २ करोड ४२ लाख १२ हजार, अन्त शुल्कतर्फ १० लाख ४४ हजार, कृषि सुधार शुल्कतर्फ ७ हजार र भन्सारसम्बन्धी अन्य आयतर्फ २ लाख ५८ हजार रुपैयाँ छ ।