२२ असार २०८३, सोमबार

खेलकुद समिति पाल्पाका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खेलकुद समिति पाल्पाका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खेलकुद विकास समिति पाल्पाका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख ताराबहादुर थापासहित ४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा उनीहरूविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ मा पाल्पाको रामपुरस्थित बहुउद्देश्यीय कभर्ड हाल निर्माणको डीपीआर नगराई एक कम्पनीसँग संक्षिप्त परामर्श सेवा खरिद गरी ९ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । 

फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिसँग अति संक्षिप्त रूपको परामर्श सेवा खरिद सम्झौता गरेको, डीपीआर प्रतिवेदन पेश नै नगरी झुठा बिल भर्पाइका आधारमा भुक्तानी गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । 
भुक्तानी लिने फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेलाई लाभ पुर्‍याइएको भन्दै उनीहरूविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्