
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकले नागरिकता वितरणको प्रावधानलाईे खुकुलो नबनाउने दाबी गरेका छन् । सोमवार राष्ट्रियसभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान अनुकूल नै विधेयक ल्याएको दाबी गरे । उनले नागरिकता विधेयक संविधान प्रतिकूल नभएकाले आशंका नगर्न आग्रह पनि गरेका छन् ।
गृहमन्त्री खाणले नागरिकता ऐन आवश्यक्ता अनुसार परिस्कृत हुने बताएका छन् । उनले नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता दिनका लागि संशोधित ऐन ल्याइएको दाबी गरे । उनले कसैको पनि दबाब, परामर्श र सल्लाहमा विधेयक नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित ढंगले नागरिकता वितरण गर्न ल्याइएको बताए ।
उनले गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्ने गरी प्रमाणपत्र दिने संविधानको प्रावधान रहेको बताएका छन् । ‘गैर आवासीय नेपालीहरू नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन् । उनीहरू अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरूलाई पनि एकत्रित गरेर उनीहरूले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो,’ उनले भने ।
मन्त्री खाणले करिव ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गरे ।