
घर झगडा भएर आमाको हत्या गरेर घरबाट हामफाल्दा बुवाको मृत्यु भएको १२ वर्षीया छोरीले प्रहरीलाई बताएकी छन् ।
आइतवार राति आफ्नै पत्नीलाई हत्या गरेर कृष्णप्रसाद आचार्यले घरबाट हामफालेर आत्महत्या गरेका थिए ।
आइतवार राति प्रहरीलाई राति करीब पौने १० बजे एक जना पुरुष सडकमा घाइते भएको भन्ने फोन आयो । त्यसलगत्तै प्रहरी पुग्दा ३९ बर्षीय कृष्णप्रसाद आचार्य घरको तल सडकमा घाइते अवस्थामा थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी हरिहर अधिकारीका अनुसार प्रहरीले तत्कालै उनलाई पुरानो मेडिकल अस्पताल पठायो । उनलाई अस्पताल पठाएलगत्तै कृष्णकी १२ वर्षीया छोरीले ‘माथी मामुलाई बुवाले काटेको छ’ भनेपछि प्रहरी घरको माथि गएर हेर्दा ३५ वर्षीया रुस्मा घिमिरे आचार्य शरीरमा हँसियाले हानेर घाइते अवस्थामा फेला परेकी डीएसपी अधिकारीले बताए ।
प्रहरीले उनलाई लगत्तै भक्तपुर मेडिकल कलेज पठायो । प्रहरीका अनुसार राति साढे १० बजे रुस्मालाई मृत घोषणा गरिएको थियो । कृष्णलाई ११ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार पहिलादेखि नै घरायसी झगडा भएको थियो । वैदेशिक रोजगारीमा कतार गएर १ महिनाअघि फर्किएका कृष्ण र रुस्मा विवाद सम्बन्धविच्छेदसम्म पुगेको थियो ।
डीएसपी अधिकारीका अनुसार रुस्माले आफू घरेलु हिंसामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३१ गते रिट निवेदन दिएकी थिइन् । ‘रुस्माले घरेलु हिंसा भएको भन्दै रिट निवेदन दिनुभएको थियो । उहाँहरू एउटै घरको छुट्टाछुट्टै फ्ल्याटमा बस्ने सहमति गरेर जानुभएको थियो,’ प्रवक्ता डीएसपी हरिहर अधिकारीले लोकान्तरसँग भने ।
उनका अनुसार अदालती प्रक्रिया टुंग्याएर छुट्टिनुभन्दा अगाडि एउटै घरको फ्ल्याटमा तल र माथि बस्ने सहमति भएको थियो । त्यसपछि बीचमा केही समस्या देखिएको थिएन ।
प्रहरीका अनुसार घरायसी विवाद हुँदा कृष्णप्रसादले पत्नीको हत्या गरेर आत्महत्या गरेको देखिएको छ । अहिले रुस्माका बुवाले कृष्णका परिवारविरुद्ध किटानी जाहेरी दिएका छन् भने कृष्णकी आमाले पनि आफ्नो छोराको हत्या भएको भन्दै किटानी जाहेरी दिएका प्रवक्ता अधिकारीले लोकान्तरलाई बताए ।
दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । प्रहरीले अनुसन्धान गरिरहेकाले के कारणले हत्या र आत्महत्यासम्म पुगेको भन्ने पत्ता लागेको छैन ।