२२ असार २०८३, सोमबार

भूतखोलामा पर्यटक लोभ्याउने सिद्धसरोबर झरना

भूतखोलामा पर्यटक लोभ्याउने सिद्धसरोबर झरना

पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलामा पर्यटक भित्र्याउने उद्देश्यसहित सिद्धसरोबर झरना तथा व्यवस्थित पार्क सञ्चालनमा आएको छ । 

भूतखोला सिद्धसरोबर झरनाको सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरे । 

भूतखोलामा रहेको प्राकृतिक झरनास्थलमा विभिन्न संरचनाहरू निर्माण गरेर आकर्षणको केन्द्रको रूपमा विकास गरिएको भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकाले बताइन् । वन र प्रदेश सरकारको गरी २५ लाख रूपैयाँको लगानीमा पार्क बनाइएको हो । 

पार्क र झरना अवलोकन गरी मनोरञ्जन लिनका लागि अब आन्तरिक पर्यटकका लागि २० रुपैयाँ र बाह्य पर्यटकलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको वनका सचिव सन्तोष शेरचनले जानकारी दिए । झरनामा वार्षिक ३ लाख पर्यटक आउने लक्ष्य लिइएको छ । 

मुख्यमन्त्री केसीले झरना र पार्कले पर्यटन विकासका लागि गाउँपालिमा ढोका खुलेको बताए । ‘बुटवल नजिकै रहेको यो ठाउँ भारतीयहरूका लागि उचित छ,’ केसीले भने, ‘सिद्धबाबामा सुरुङमार्ग बनेपछि दोभान, भूतखोला लगायका विभिन्न धार्मिक तथा पर्यटकीय गन्त्व्यमा पर्यटकको आगमन धेरै बढ्ने छ ।’ 

केसीले थपे, ‘नेचुरल झरनालाई बिगार्नु हुँदैन । यो पर्यटन विकासको लागि रिसोर्स हो । यिनीहरूपछि गएर  अनुसन्धान गर्ने केन्द्रको रूपमा पनि विकास हुन सक्छन् ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्रबहादुर हमालले पर्यटनको विकासबाट लुम्बिनी प्रदेशको आर्थिक समृद्धि हुने बताए । उनले भूतखोला झरना विदेशी पाहुनाको आकर्षणको केन्द्र बन्ने बताए । 

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्तीमगरले सबै अथक प्रयासबाट नै सफल बनेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकालाई पर्यटकीय हब बनाउन आफूहरूले निरन्तर लागिरहेको बताए ।

वन अधिकृत दीपक ज्ञवालीले भूतखोला वन धेरै सम्भावना रहेको वन रहेको भन्दै यसभित्र रहेको प्राकृतिक स्रोतहरूको उपयोगबाट स्थानीयले आर्थिक उन्नति गर्नसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्