
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो ।
जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।
डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए । रासस