
उपचारका क्रममा भारतको नयाँदिल्लीमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।
उपचारका लागि २ हप्तादेखि दिल्लीमा रहेकी आरजुले बुधवार चौथाइवालेसँग भेटवार्ता गरेकी हुन् ।
‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो,’ आरजुसँगको भेटको फोटो राख्दै चौथाइवालेले लेखेका छन् ।
चौथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बाँधेर देउवाले भारजपासँग सम्बन्ध बढाएकी थिइन् । उपचारका लागि दिल्लीमा रहेकी देउवाले राजनीतिक भेटवार्ता गरेकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दिल्ली भ्रमणका क्रममा भारतीय नेताको मध्यस्थतामा आरजुले ‘पावर शेयरिङ’को कुरा गरेको भन्दै नेपालमा अफवाह फैलिएको थियो ।
म्याक्स अस्पतालमा हालसालै आरजुको सामान्य शल्यक्रिया गरिएको थियो ।