
पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नयाँ चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
आगामी भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘ईश्वरसँग पनि’ बोलको गीत बुधवार दिउँसो यूट्युबमा सार्वजनिक गरिएको हो ।
‘आगो विना बिँडी जल्दैन’ गीत हिट भएसँगै निर्माण टीमले चलचित्रको दोस्रो गीत स्वरूप ‘ईश्वरसँग पनि’ सार्वजनिक गरेको हो । यस गीतको भिडियोमा चलचित्रका चल एवं अचल दृश्यहरू समावेश गरिएको छ ।
प्रमोद ढुंगानाको शब्द रचना एवं अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायक कमल खत्री र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । भिडियोमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा, अभिनेताद्वय मुकुन भुसाल र कुशल बिष्टसँगै चरित्र अभिनेत्री हिँउवाला गौतमलाई देख्न सकिन्छ ।
गीतको नृत्य निर्देशक रामजी लामिछाने हुन् ।
भीमनिधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’को पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा छन् ।
चलचित्रमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘झिँगेदाउ’मार्फत अभिनेत्री केकी र आँचलले पहिलोपटक एकसाथ पर्दा शेयर गरेका हुन् । उनीहरूलाई चलचित्रमा जेठानी–देउरानीको भूमिकामा देख्न पाइनेछ ।
विष्णु कल्पितको छायांकन रहेको चलचित्रको सम्पादनको जिम्मेवारी भने मित्र डी गुरुङले सम्हालेका छन् ।