२१ जेठ २०८३, बिहीबार

संसदीय समितिले सरकारसँग माग्यो जवाफ : एसपीपीमा सहभागी नहुने पत्र किन नपठाएको ?

संसदीय समितिले सरकारसँग माग्यो जवाफ : एसपीपीमा सहभागी नहुने पत्र किन नपठाएको ?
फाइल फोटो

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।

समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरे पनि नपाएकाले सो कागजात प्राप्त गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरू आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौं । केको लागि जानुभएको हो ? हामीलाई जानकारी छैन । त्यसले गर्दा आधिकारिक रूपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ । यसले गर्दा आजको बैठकले हामीले के निर्णय गर्नुपर्ने हुन्छ भन्ने लाग्छ, आधिकारिक ठाउँबाट केका लागि जानुभएको हो, हल्ला विभिन्न किसिमको आइराखेको छ । आईपीएसको सन्दर्भमै छलफलमा जानुभएको हो भन्ने खालको कुरा छ । एसपीपीलाई पास गर्नका लागि हो भन्ने खालको कुरा पनि आएको छ तर हामी हल्लाको पछि लागेका छैनौं । हामी आधिकारिक तथ्य, प्रमाण लिन चाहन्छौं । अहिलेको सन्दर्भमा माननीय सदस्यहरूले भनेजस्तै फेरि एकचोटी हामी मन्त्रालयलाई पत्राचार गर्नेछौं । रक्षा मन्त्रालयलाई पत्र पठाउने छौं । एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन ? नजानुको कारण के हुन् र हामीले मागेका डकुमेण्टहरू हामीले प्राप्त गर्न नसक्नुका कारणहरू के–के हुन् र यो हामीले प्राप्त गर्न सक्छौं या सक्दैनौं ? प्रस्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरूसमक्ष राख्न चाहन्छौं ।’

समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्