
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलको मनपरीतन्त्र रोक्न बलियो राप्रपाको आवश्यकता रहेको बताएका छन् । बुधबार धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेर राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी संघ र प्रदेशको निर्वाचनको निकट छौं’ अध्यक्ष लिङ्देनले भने, ‘यो निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’ नवप्रवेशीहरुले षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिदै आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश गर्नेमा एमाले परित्याग गरेका राजेश भण्डारी, रोम स्वाँर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार विजयी गराउने अभियानका संयोजक दानबहादुर रावल, डिल्ली जैसी, सम्राट सिंह सहित एमाले, कांग्रेस लगायत विभिन्न राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरु रहेका छन् ।
कार्यक्रममा राप्रपाका नेताहरू चन्द्रबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सहायक प्रवक्ता पूर्ण चन्द, केन्द्रीय सदस्यहरु तीर्थराज चटौत, हिक्मत सिंह भण्डारी, गणेश विष्ट लगायतको उपस्थिति रहेको थियो ।