
नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको दैनिक आवश्यक्ता पूरा गर्न हजारौं संख्यामा नेपाली नागरिकहरू भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको हो ।
धान रोपाइँ गरेर नेपालीहरू आय–आर्जनका लागि दैनिक सयौंको संख्यामा भारततर्फ गइरहेका छन् । रोपाइँ सकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन् ।
नेपालभन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरूको संख्या बढेको जाजरकोटका शेरबहादुर शाहीले बताए । पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको उनको भनाइ थियो । उनले आफ्नो गाउँमा भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए ।
पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर विक गएको जेठ महिनामा खेती लगाउनका लागि घर फकिएका थिए । तर, आफूलाई भारतमै काम गर्न सहज भएकोले पुनः फर्कन लागेको उनले बताए । भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको उनीको भनाइ छ ।
त्यस्तै, सुर्खेतबाट भारत जान लागेका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए ।
सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरू भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका छन् ।