राष्ट्रपति महिला हुन् वा पुरुष राष्ट्रपति नै भनिन्छ । तर हालै भारतमा राष्ट्रपति निर्वाचित द्रोपदी मुर्मूलाई भारतीय कांग्रेसका लोकसभा सांसद अधीर रञ्जनले राष्ट्रपत्नी भनेपछि राजनीति तरङ्गित बनेको छ ।
दिल्लीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रञ्जनले द्रोपदीलाई राष्ट्रपत्नी भनेर सम्बोधन गरेका थिए । प्रतिपक्षी कांग्रेसका सांसदले राष्ट्रपतिलाई यस्तो शब्द प्रयोग गरेपछि सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले विरोध गरेको छ ।
नेता रञ्जनले आफू जिब्रो चिप्लिएको स्पष्टीकरण दिएका छन् । सामान्य विषयलाई भाजपाले बढाइचढाइ गरेको उनको गुनासो छ ।
रञ्जनको अभिव्यक्तिले लोकसभामा हंगामा मच्चिएको छ । सभामा केन्द्रीय मन्त्री स्मृति ईरानीले कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई माफी माग्न आग्रह गरिन् । संसदमा आरोप–प्रत्यारोप भएपछि दुवै सदनको कारवाही स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।