२१ जेठ २०८३, बिहीबार

लुम्बिनीमा कार्यकाल सकिने बेला संसदीय समितिले पायो पूर्णता

साउन १२, २०७९
लुम्बिनीमा कार्यकाल सकिने बेला संसदीय समितिले पायो पूर्णता

राजनीतिक खिचातानी र सत्ता अदल–बदलले झण्डै डेढ वर्षदेखि नेतृत्वविहीन लुम्बिनी प्रदेशका संसदीय समितिहरूले बल्ल पूर्णता पाएका छन् । कार्यकालको अन्तिममा आएर ‘मिनी संसद’ रूपमा मानिने विषयगत समितिलाई पूर्णता दिइएको हो । प्रदेशसभाको कार्यकाल आउँदो मंसिरमा सकिँदैछ । 

लामो समयदेखि विषयगत समितिहरू नेतृत्वविहीन हुँदा प्रदेश सरकारले गर्ने काम कारबाहीको अनुगमन रोकिएको थियो । बिहीबार चारवटै समितिका सभापति निर्विरोध चयन भएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरकाले चारवटै समितिको नेतृत्व निर्विरोध चयन भएको जानकारी दिए । 

तोकिएको समयमा सभापतिमा चार जनाको मात्र उम्मेदवारी परेको हो । पुनका अनुसार समितिमध्ये ३ वटा नेकपा एमाले र एउटाको नेतृत्व राष्ट्रिय जनमोर्चाले पाएका छन् । 

प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमाले कपिलवस्तुका सांसद विष्णु पन्थी निर्विरोध भएका छन् । त्यस्तैगरी सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम र कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल निर्विरोध भएका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी ताराकुमारी जिसी निर्विरोध भएकी छन् । 

समितिमा निर्वाचित सदस्यहरूको सपथ ग्रहण कार्यक्रम शुक्रवार राखिएको छ । सार्वजनिक लेखा समितिका सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा रहेका छन् । 

त्यस्तै सामाजिक विकास समिति सदस्यमा कमलादेवी विक, चिन्तवती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कानौडिया, पुष्पा थरूनी, तेजबहादुर ओली, दीपा विक सदस्य छन् । 

कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारू, चेतनारायण आचार्य, कूलप्रसाद पोखरेल, अष्ठभुजा पाठक, रून्द्रावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारू सदस्य छन् । 

अर्थ उद्योग पर्यटन समितिमा थानकुमारी चापागाईं, भगवतीदेवी भण्डारी, दीपेन्द्रकुमार अधिकारी, तुलसी चौधरी, लिला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्तीमगर र निर्मला मुडवरी छन् ।

विषयगत समितिमध्ये अर्थ उद्योग पर्यटन विकास समितिको सभापति प्रदेशसभामा एक सदस्य रहेको जनमोर्चाले पाएको छ । गठबन्धन सरकारलाई समर्थन गरेबापत जनमोर्चाले विकास समितिको सभापति पाएको हो । गठबन्धनलाई मत दिएर सरकार बनाउन सहयोग गरे पनि जनमोर्चा सरकारमा गएको छैन । प्रदेश सभा बैठकमा पनि जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसी विपक्षी दलको कुर्सीमा बस्ने गरेकी छन् ।

अन्तिम समयमा आएर भएपनि समितिले पूर्णता पाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘हामीले छलफलबाटै नेतृत्वमा सहमति गरेका हौँ’ नेता ढकालले भने, ‘समितिमा रोकिएका विधेयक र अन्य अनुगमन तथा निगरानीका काम अघि बढ्नेछन् ।’ 

प्रदेशसभामा ६ वटा समिति छन् । भौतिक पूर्वाधार तथा विकासमा समितिमा ढाँटी सुनार र प्रदेश मामिला तथा कानून समिति दामा कुमारी शर्मा सभापति छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्