
सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना सङ्क्रमित भेटिएका हुन् ।
सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताए । जटिल अवस्थाको सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन गौरीफन्टा नाका र गड्डाचौकी नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।