
नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफूहरूका लागि सत्ता नै सबैथोक नभएको बताएका छन् । हालै जनता समाजवादी पार्टीले कारबाही गरेपछि नेपाल समाजवादी पार्टी गठन गरेको उनले शनिवार पार्टीको पहिलो केन्द्रीय बैठकमा सत्तालाई नै सबैथोक नठानेको बताएका हुन् ।
पुनः ‘आँखा’ चिह्न लिएर आसन्न निर्वाचन जनता माझ जाने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले निर्वाचनलाई साधनका रूपमा मात्र लिएको प्रष्ट पारे । ‘निर्वाचनको मुखमा आएको नयाँ दलले अपेक्षित परिणाम ल्याउने वा नल्याउने विषय छ,’ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले निर्वाचनलाई एउटा साधनको रूपमा लिन्छौँ । हाम्रो निम्ति सत्ता सबैथोक होइन ।’
निर्वाचन रुपान्तरणको एउटा साधनमात्र भएको भट्टराईको तर्क छ । ‘निर्वाचन रुपान्तरणको एउटा साधन मात्र हो, हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ’ भट्टराईले भने । उनले सडक, सदन र सरकारबाट संघर्षमा उत्रने कार्यदिशा सुनाएका थिए ।
उनले बैठकमा जसपा विवादका सन्दर्भमा पनि बोलेका थिए । भट्टराईले जसपाको नेतृत्व पुरानै बाटोबाट हिँड्न खोजेकाले बाटो अलग पारेको बताएका छन् । उनले आफूलाई परिवर्तनकारी र जसपा नेतृत्वलाई यथास्थितिवादीको रूपमा चित्रित गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले भने, ‘त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णताभन्दा माथि उठेर जान चाहेनन्।’
‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले गर्यौँ, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन’ भट्टराईले भने, ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौँ ।’
शनिवारबाट शुरू भएको उक्त पार्टीको बैठकले निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्ने बताइएको छ । यसअघि जसपा नेताहरू सत्ता गठबन्धनमा सहभागी भइरहेका भट्टराई विवादपछि भने गठबन्धनको बैठकमा सहभागी भएका छैनन् । सत्तारुढ पाँच दलले गठबन्धन कायमै राखेर निर्वाचनमा जाने औपचारिक सहमति गरिसकेको सन्दर्भमा भट्टराईको पार्टीले पनि निर्वाचनका सन्दर्भमा रणनीति बनाउने बताइएको छ ।
डा. भट्टराईले जसपाले कारबाही गरेपछि यसअघि निर्वाचन आयोगमा उनकै निर्देशनमा दर्ता रहेको दललाई नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको छ ।