
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू मनोनयनका लागि सभापति शेरबहादुर देउवाले औपचारिक पत्र पठाउने भएका छन् । निर्वाचन कार्यालयहरूमा उम्मेदवार मनोनयनका लागि कांग्रेसका उम्मेदवारहरूका लागि सभापति देउवाले पत्र आधिकारिक हुने भएको हो ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । सभापति देउवाले औपचारिक पत्र दिएका बाहेक पार्टीका आधिकारिक उम्मेदवार बन्न पाउने छैनन् ।
निर्वाचन आयोगमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयन पत्र दिने व्यक्तिको विवरण र नमूना हस्ताक्षर दल दर्ता कै क्रममा बुझाउनु पर्दछ । सोही आधारमा आयोगले पार्टीको आधिकारिक उम्मेदवारको छिनोफानो लगाउने कानूनी व्यवस्था छ । सोही अनुसार कांग्रेसका उम्मेदवारहरूको मनोनयन पत्र दिने अधिकार सभापति देउवालाई दिइएको हो ।
बैठकले आवश्यक प्रक्रिया पु¥याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।
उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसका एक नेताले बताए ।
निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा भने कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।
