
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीयतहको निर्वाचनमा ‘सागर, वसन्ते, किस्ने...’ विवाद देखिएकाले पूर्व सुरक्षाकर्मीलाई म्यादी प्रहरीका रूपमा परिचालन गर्न उपयुक्त हुने सुझाव दिइएको बताए । उनले भूतपूर्व सुरक्षा निकायका कर्मचारीहरूलाई तालिम दिन पनि सहज हुने भएकाले गृहमन्त्रालयमार्फत सरकारलाई सुझाव दिएको बताए ।
‘अघिल्लो निर्वाचनमा सागर वसन्ते किस्ने..जस्ता विवाद देखिएका थिए । पूर्व कर्मचारीहरू अनुभवी पनि हुने भएकाले पनि उनीहरूलाई म्यादीको रूपमा ल्याउन सुझाव दिएका छौँ,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने ।
प्रहरीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयसँग १ लाख १६ हजारको संख्यामा म्यादी प्रहरी आवश्यक पर्ने विवरण बुझाएको छ ।