०७ साउन २०८३, बिहीबार

जनप्रतिनिधिहरूलाई देउवाको निर्देशनः आगामी निर्वाचनमा पार्टी जिताउने गरी लाग्नुहोस्

जनप्रतिनिधिहरूलाई देउवाको निर्देशनः आगामी निर्वाचनमा पार्टी जिताउने गरी लाग्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी संसदीय निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने गरी लाग्न निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् । 

पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावमा कांग्रेसलाई विजयी बनाउन जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले पार्टीको पक्षमा समर्थन जुटाउने काममा लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।

उनले गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण कांग्रेसलाई सफलता मिलेको स्मरण गरे । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको जनप्रतिनिधिहरूलाई जानकारी दिएका थिए । ‘गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौँ । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको मन जित्ने काम गर्नुपर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरू भएका छन् त्यहाँ एक्लै चुनाव लड्दा पनि सफलता पाएका छौँ ।’ 

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले एमसीसीबारेको भ्रम निवारण गर्न सफल भएको दाबी गरेका छन् । ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौती थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौती पनि थियो । एमसीसीबारे व्यापक भ्रम सिर्जना गरिएको थियो’ उनले भने, ‘ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको छ ।’ 

कमेन्ट गर्नुहोस्