
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ ।
परिसंघले सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।
परिसंघले सरकारसँगको साझेदारीमा आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन गर्न लागेको हो ।
परिसंघले आयोजना गर्न लागेको यो चौथो संस्करणको पूर्वाधार सम्मेलन हो ।
सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेको छ ।
सम्मेलनले यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाई लगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान लक्ष्य राखेको परिसंघले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
यसअघि सन् २०१४, २०१७ र २०१९ मा नेपाल पूर्वाधार सम्मेलन आयोजना गरिएको थियो ।
चौथो संस्करणको सम्मेलनमा यी तीनवटा सम्मेलनको उपलब्धि लगायतको विषयमा समीक्षा समेत हुने बताइएको छ ।
यसपटकको सम्मेलनको विषयवस्तु मुख्य गरी विकासका लागि पूर्वाधार भन्ने रहेको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यसूची छ ।
सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू लगायतले सम्बोधन गर्नेछन् ।
यस्तै सम्मेलनमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, भारतस्थित अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतमा शान्ति अगानीसमेत उपस्थित हुनेछन् ।
सगरमाथा सिमेन्टको मुख्य प्रयोजनमा सम्पन्न हुने यस सम्मेलनमा २५ देशबाट ६ सयभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको परिसंघले जनाएको छ ।
सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रुपान्तरणलगायत विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिइएको परिसंघले जनाएको छ ।
सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुने समेत परिसंघको भनाइ छ ।