असोज ४, २०८०
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
साउन ३०, २०७९
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता विधेयक संसद्मा दर्ता गरेको थियो ।
निर्वाचनको सम्मुखमा फास्ट ट्रयाकबाट दुवै सदनमा पारित भएपछि कतिपयले नागरिकता विधेयकमाथि प्रश्न उठाएका थिए ।
राष्ट्रपतिले १५ दिन लगाएर विधेयकमाथि अध्ययन गरी १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेकी छन् ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको अवस्थामा नागरिकताका सम्बन्धमा पक्ष विपक्षमा तर्क वितर्क हुँदा उक्त विषयलाई राजनीतिक दलहरूले चुनावी एजेण्डाको विषय समेत बनाउने अवस्था रहन्छ । भलै, इतिहासदेखि नै नेपालमा नागरिकताका विषय चर्को राजनीतिक एजेन्डा बन्ने गरेको छ ।
गत साउन ६ मा प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि असोज ७ मा जनकपुर पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गराएको जस लिने प्रयास गरेका थिए ।
त्यसदिन जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, ‘झण्डै ६–७ लाख नेपालीहरू नागरिकताको अभावका कारणले धेरै कामबाट बञ्चित हुनुपर्ने अवस्था थियो अब त्यसको अन्त्य भएको छ । अब नागरिकता ऐन तुरुन्तै कार्यान्वयन हुन्छ । आज यो कुरा फेरि जनकपुर आएर पहिलोपटक पार्टीका तर्फबाट र मेरोतर्फबाट पनि सुनाउन पाउँदा मलाई गर्वको महसूस भएको छ ।’ यसो भन्दै गर्दा उनले मधेशी समुदायलाई खुशीको खबर सुनाउन जनकपुर आएको समेत बताएका थिए ।
विशेषगरी, नागरिकताका सम्बन्धमा मधेश प्रदेशका जिल्लामा धेरै समस्या छन् । विभिन्न कारणले नागरिकता नपाएका मानिसको संख्या धेरै रहेको चर्चा हुने गर्छ । सामाजिक रहनसहन र संस्कृति पनि मिल्ने भएका कारण भारतबाट विवाह गरेर आएका धेरैजसो व्यक्तिहरूले मधेशमा नागरिकता बनाउन पाएका छैनन् ।
बाबुको पहिचान नभएर नागरिकता बनाउन नपाएका व्यक्तिहरू देशभरमा छन् । नागरिकताविहीन हुँदा उनीहरूले कुनै पनि प्रशासनिक सेवा लिन पाइरहेका छैनन् ।
नागरिकका यिनै समस्यामा राजनीतिक दलहरूले भने भोटको राजनीति गरिरहेका छन् । २०७८ सालको जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सिफारिश गरेर चुनावको मिति घोषणा गरेका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादका कारण राष्ट्रिय राजनीति नै प्रभावित थियो । त्यसबेला ओलीले जेठ ९ मा नागरिकता अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका थिए ।
त्यसबेला ओलीको सिफारिशमा नागरिकता अध्यादेश जारी हुँदा अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले तीव्र विरोध गरेका थिए ।
विशेषगरी, मधेश प्रदेशमा खस्किएको छवि सुधारका लागि ओलीले नागरिकता अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेशविरूद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको थियो । अध्यादेश सिफारिश गर्ने तत्कालीन मन्त्रिपरिषद् र जारी गर्ने राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर कानून व्यवसायीहरूले रिट दर्ता गरेका थिए ।
उक्त रिटबारे जेठ २७ मा संवैधानिक इजलासमा सुनुवाइ भएर अन्तरिम आदेश जारी भएको छ । उक्त अन्तरिम आदेशबाट सर्वोच्च अदालतले अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।
सर्वोच्चले उक्त अध्यादेशलाई ‘विधायिकालाई छल्ने उद्देश्यले जारी गरिएको छद्म विधायन’ भनेर व्याख्या गरेको थियो । सरकारले अध्यादेश जारी गरेर कानून निर्माण गर्ने विधायिकाको अधिकारमा हस्तक्षेप गर्न नहुने टिप्पणी पनि उक्त आदेशमा गरिएको छ ।
केपी ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशको विरोध गरेका दलहरू सम्मिलित सरकारले संसद्मा लगेको नागरिकता विधेयकमा अध्यादेशमा भएका हुबहु व्यवस्था छन् ।
यसरी राजनीतिक दलहरूले नागरिकता विधेयकलाई ‘चौतारोको मादल’ जस्तो बनाएका छन् । मानौं, चौतारीमा शीतल ताप्न पुगेको जो कोहीले आफ्नो तालमा मादल बजाओस् ।
केपी ओली नेतृत्वको सरकारले जारी गरेको नागरिकता अध्यादेशको प्रभाव स्थानीय तहको निर्वाचनका बेला मधेश प्रदेशमा देखिएको थियो । २०७४ को चुनावमा मधेश प्रदेशमा चुनाव प्रचारसमेत गर्न नपाएको एमालेले गत वैशाखमा चुनावमा निर्धक्क प्रचार गर्न सक्ने अवस्था बनेको थियो । त्यसको एउटै कारण ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेश भएको मधेश मामिलाका जानकारहरू बताउँछन् ।
मधेश मामलाका जानकार एवं विश्लेषक चन्द्रकिशोर कहिले राजाले, कहिले राष्ट्रपतिले, कहिले राजनीतिक दलले र अदालतले समेत नागरिकताका सम्बन्धमा राजनीति गरेको टिप्पणी गर्छन् । ‘राज्यले नागरिकलाई चिन्ने र नागरिकले राज्यलाई अनुभूत गर्ने भनेकै नागरिकताबाट हो । नागरिकता नदिएर नागरिकमाथि राज्यले नै अपराध गरिरहेको छ’, चन्द्रकिशोर भन्छन् ।
अघिल्लो नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक संसद्मा लगेपछि एमालेका सांसदहरूले त्यसको विरोध गरेका थिए । उनीहरूले प्रशस्त संशोधन हालेका थिए । तर, एमालेका सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भए । अहिले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा एमालेका सांसद तथा नेताहरूले खुशी व्यक्त गरेका छन् ।
स्थानीय तहको चुनावको अवस्थालाई मध्यनजर गर्दा पनि नागरिकता विधेयकको विषयले विशेषगरी मधेश प्रदेशभित्रको चुनावी सभाका मुख्य एजेण्डा बन्ने देखिन्छ ।
अहिले नै मधेशबाट एमालेमा प्रतिनिधित्व गर्ने नेताहरूको ट्रोल सामाजिक सञ्जालमा पोस्ट हुन थालेको छ ।
मधेशबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरू रघुवीर महासेठ, प्रभु साह लगायतका नेताहरूमाथि सामाजिक सञ्जालमा गालीयुक्त टिप्पणी हुन थालेको छ ।
यसले के संकेत गर्छ भने मधेश प्रदेशमा नागरिकता विधेयक फिर्ता प्रकरण एमालेका लागि महंगो पर्ने देखिन्छ ।
सरकारमा रहेका दलहरूले भने नागरिकता दिने उद्देश्य रहे पनि राष्ट्रपतिले विधेयक फिर्ता गरिदिएका कारण असम्भव भएको बताउने ठाउँ छ । अर्कातर्फ, प्रतिनिधि सभामा पठाइएको विधेयक सत्तारूढ दलले जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्छन् । त्यसरी, दोस्रोपटक सिफारिश भएको विधेयक अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई छैन । त्यसबेला पनि नागरिकता विधेयकको बल सत्तारूढ गठबन्धनकै कोर्टमा रहन्छ ।
त्यसबेला गठबन्धनमा रहेका दलहरूले भन्न सक्छन्– पहिले एमालेमै रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेले नागरिकता विधेयक जारी हुन नदिने प्रयास गरेको थियो । हामीले उनीहरूको नेक्सस चिरेर नागरिकता विधेयक जारी गरेका छौं ।
लाखौं मानिसले नागरिकता नपाएर बसेको अवस्थामा विधेयकमा के कुरा समावेश भएको छ भन्ने कुराले भन्दा पनि कसले जारी गर्यो भन्ने आधारमा जनमत निर्माण हुने अवस्था छ ।
मधेश प्रदेशलाई मुख्य आधार बनाएर राजनीति गरिरहेका दलहरूले त नागरिकता विधेयक फिर्ती प्रकरणलाई मुख्य चुनावी एजेण्डा बनाउने नै छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजेको टिप्पणी गरिसकेका छन् ।
राजनीतिक विश्लेषक एवं मधेश मामलाका अर्का जानकार तुलानारायण साह भने राष्ट्रपति भण्डारीले एमालेलाई फाइदा पुग्ने चुनावी एजेण्डा बनाउन नागरिकता विधेयक फिर्ता भएको दाबी गर्छन् ।
‘चुनावमा एमालेको पहाडी राष्ट्रवादलाई क्यास गर्न राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएको हो । राजनीतिक उद्देश्य परिपूर्तिका लागि विधेयक फिर्ता भयो । मधेशको समस्यालाई नजरअन्दाज गरियो’, साहले भने ।
नागरिकताका सम्बन्धमा वैवाहिक अंगीकृतको समस्या तराइमा मात्रै भएको र त्यसबाट सिर्जित समस्यालाई गम्भीररूपमा नलिइएको साहको तर्क छ ।
‘सीमापार विवाह मुख्यगरी मधेशमा छ । वैवाहिक अंगीकृतको समस्या मधेशको हो । विवाह भएर आएकाहरूले नागरिकता लिन समयसीमा राखिन्छ भने मधेशको सामाजिक परिवेशलाई बेवास्ता गरेको भन्ने बुझिन्छ’, साहले भने ।
केही पहाडी क्षेत्रका मतदाताले नागरिकता विधेयक फिर्ता प्रकरणमा राष्ट्रपति र प्रकारान्तरले एमालेलाई साथ दिन सक्लान्, तर पहाडी र हिमाली क्षेत्रमा नागरिकता विधेयककै कारण मत स्वीङ हुने सम्भावना कम हुन्छ ।
भलै, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले नागरिकता पाउने विषयमा विलम्ब नगर्न आफ्नो सन्देशमा भनेकी छिन् । नागरिकतासम्बन्धी कतिपय विषयहरू पुनर्विचार गरेर पुनः प्रमाणीकरणका लागि पेश गर्न राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
तर, प्रतिनिधि सभामा फिर्ता भएको नागरिकता विधेयकका विषयमा सत्तारूढ गठबन्धनले कस्तो निर्णय लिन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ ।
पढ्नुहोस्, सम्बन्धित समाचारहरू :
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । ...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे । नेपालमा स...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...