२९ जेठ २०८३, शुक्रबार

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै

सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना संक्रमणदर हाल निरन्तर रूपमा बढ्दै गएको छ ।

भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो ।

गत १ महिनाको तथ्यांक हेर्दा यहाँ करीब १ हजार २०० संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्यांक हेर्दा १ हजार १९३ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणकै कारण १ जनाले ज्यान गुमाएका छन् । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको हो ।  

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा संक्रमण बढेको हो । उनले भने, ‘भारतमा संक्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ ।’

भारतमा मजदूरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए ।

कोरोना संक्रमणकोे जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ । जोखिम कायमै रहेकोले यहाँका भारतसंँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, ‘नयाँ व्यवस्थापनको काम नभए पनि सीमानाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत जाँचमा कडाइ गरिएको छ ।’

भारतसँग सीमा जोडिएका प्रदेशको गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेनमार्फत कोरोना परीक्षणको काम भइरहेको छ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ ।

उनले भने, ‘संक्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौं, डाक्टरको सल्लाहमा संक्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेसनमा बस्न सुझाउने गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्