२३ जेठ २०८३, शनिबार

बाबुराम र वामदेवलाई पनि लिएर समाजवादी केन्द्र गठन गर्छौँः वर्षमान पुन

बाबुराम र वामदेवलाई पनि लिएर समाजवादी केन्द्र गठन गर्छौँः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । 

उपमहासचिव पुनले एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादी बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ’, मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौँ । तर, फेरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा पनि राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’ 

पुनले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलिरहेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषणा पत्र बनाएर जाने कुरा भइरहेको छ ।’ 

यस्तै, उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए । मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे । 

राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरूको साझा चुनावी एजेण्डा भएको उल्लेख गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्