
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गरेको छ । अब मिडासबाटै ती दुई अस्पतालको टिकट अनलाइनमाध्यमबाट लिन सकिने भएको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइन बस्नुपर्ने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेरमार्फत शुरू गरिएको हो ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिडासले जनाएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका लागि उपलब्ध रहेको बताइएको छ । मिदास टेक्नोलोजीले अन्य सरकारी तथा निजी अस्पतालहरूको समेत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।
मिदास टेक्नोलोजिज्स् प्रालिको बारेमा
मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ७० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरोडाक्टरडटकममार्फत अनलाइन टेलिमेडिसन सेवा समेत प्रदान गर्दै आइरहेको छ । साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभमा उपलब्ध केही पूर्णकालीन चिकित्सकहरूसँग बिरामीले दैनिक रूपमा बिहान ७ः०० बजेबाट राति ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नु हुनेछ ।