०१ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने माओवादी पदाधिकारी– को कहाँबाट लड्दैछन् चुनाव ?

भदौ ९, २०७९
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने माओवादी पदाधिकारी– को कहाँबाट लड्दैछन् चुनाव ?

लामो कसरतपछि नेकपा माओवादी केन्द्रले हालै टुंगो लगाएको पार्टी पदाधिकारीमा लुम्बिनी प्रदेशले २५ प्रतिशत ‘स्पेस’ पाएको छ ।

२० सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशबाट १ उपाध्यक्ष, २ उपमहासचिव र २ सचिवसहित पाँच पदाधिकारी परेका हुन् ।

उपाध्यक्षमा दाङबाट कृष्णबहादुर महरा, रोल्पाबाट उपमहासचिवमा वर्षमान पुन, उपमहासचिवमै अर्घाखाँची जन्मस्थान भएकी पम्फा भुसाल लुम्बिनीबाट परेका छन् ।

तर, उपमहासचिव भुसालले राजनीति भने ललितपुरबाट गर्दै आएकी छिन् । जन्मस्थान अर्घाखाँची भए पनि उनको राजनीतिक थलो ललितपुर नै हो । 

त्यस्तै सचिवमा कपिलवस्तुबाट चक्रपाणि खनाल र अर्घाखाँचीबाट डिलाराम आचार्य पनि परेका छन् । 

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी नेताहरू आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने दौडमा छन् ।

यसअगाडि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सचिव आचार्यबाहेक सबै नेताहरू निर्वाचित भएका थिए । आचार्य रूपन्देही क्षेत्र नम्बर ५ बाट कांग्रेसका नेता भरतकुमार शाहसँग पराजित भएका थिए ।

आउँदो निर्वाचनमा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पाँचजना पदाधिकारी कहाँ–कहाँबाट चुनाव लड्दैछन् त ? 

दाङ क्षेत्र नम्बर २ बाट महराको तयारी 

उपाध्यक्ष महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारीमा जुटेका छन् । त्यसका लागि महराको बढी समय अहिले दाङतिर बित्न थालेको छ ।

महरा यसअघि एकपटक रोल्पा र २ पटक दाङबाट निर्वाचित भएका थिए । आउँदो निर्वाचनमा महरा र एमाले महासचिव शंकर पोखरेल आमनेसामने हुने देखिन्छ । महराको क्षेत्रमा गठबन्धनको मत हेर्दा एमालेको भन्दा धेरै छ । 

२०७४ मा महरा विजयी हुँदा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । अहिले समीकरण फरक छ । यतिबेला पाँचदलीय गठबन्धन एकातिर छ भने एमाले अर्कातिर छ ।

कृष्णबहादुर महरा

गठबन्धनबाट यसपटक महरा नै दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने सम्भावना रहेको माओवादीका जिल्ला सह–इञ्चार्ज निर्मल आचार्यले बताए । 

त्यो अवस्थामा महासचिव पोखरेल र महराबीच रोचक भिडन्त हुने देखिन्छ ।  

अघिल्लो निर्वाचनमा महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए । 

रोल्पाबाट उपमहासचिव पुन

रोल्पाबाट उपमहासचिव वर्षमान पुन नै उम्मेदवारका रूपमा दोहोरिँदै छन् । रोल्पा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । पुन साविक जंकोट– १ माडीचौरका हुन् । 

पुनले २०६४ र ०७४ मा रोल्पाबाट निर्वाचन जितेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका पुनको गृहजिल्लामा माओवादीको संगठन बलियो छ । गएको निर्वाचनमा उनी फराकिलो मतान्तरले विजयी भएका थिए । 

वर्षमान पुन

कांग्रेस उम्मेदवार अमरसिंह पुनले भन्दा उनले २० हजार ७४१ मत बढी ल्याएका थिए । वर्षमानले ४० हजार ६४७ मत प्राप्त गरेका थिए भने अमरसिंहले १९ हजार ९०६ मत ल्याएका थिए । २०७० को निर्वाचनमा वर्षमान मोरङबाट पराजित भएका थिए । 

गएको वैशाखको चुनावमा स्थानीय स्तरमै भागबण्डा मिलाउन भनिएकाले पनि रोल्पामा विगतका द्वन्द्व प्रभावित क्षेत्रमा कांग्रेस–माओवादीबीच गठबन्धन हुन सकेको थिएन । तर, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भने केन्द्रले नै सीट बाँडफाँड गर्ने भएकाले केही सहज हुने स्थिति देखिन्छ । 

कपिलवस्तु– १ बाट सचिव खनालको तयारी 

कपिलवस्तु क्षेत्र नम्बर १ बाट माओवादीका सचिव चक्रपाणि खनाल चुनाव लड्ने तयारीमा छन् । यसअगाडि कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका खनाललाई गठबन्धनबाट टिकट पक्का गर्न चुनौती छ ।

चक्रपाणि खनाल

अघिल्लो निर्वाचनमा जितेकै आधारमा माओवादी केन्द्रका खनालले सत्तारूढ गठबन्धनबाट उम्मेदवारी दिने भएमा कांग्रेस नेता उपाध्यायले आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पाउने छैनन् ।

गठबन्धनभित्र खनाल र उपाध्यायमध्ये कसलाई कपिलवस्तु–१ मा उम्मेदवार बनाउने भन्नेबारे अन्योल छ ।

उपाध्याय कपिलवस्तुमा कांग्रेसको ‘ब्रान्ड’ मानिन्छन् । विक्रम संवत् २०३० सालमा तत्कालीन हथौसा गाउँको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा शुरू गरेका उपाध्याय पटक–पटक सांसद बनिसकेका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसका वडा अध्यक्षहरूले २८ हजार २७१ मत पाएका छन् भने एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादीले ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीले ३ हजार ७२२ मत पाएका छन् ।

यस आधारमा पनि यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । दीपकुमारका लागि कपिलवस्तु– २ पनि विकल्प हुन सक्छ । उनी निकट नेताहरू १ को विकल्प क्षेत्र नम्बर २ हुनसक्ने बताउँछन् ।

अर्घाखाँची मागिरहेका छन् सचिव आचार्यले 

माओवादी सचिव डिलाराम आचार्य आउँदो निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, गठबन्धन भएको हुँदा अर्घाखाँची कांग्रेसले सहज रूपमा छाड्ने अवस्था देखिँदैन ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धन भए पनि रूपन्देही ५ बाट पराजित आचार्यले गृहजिल्ला अर्घाखाँचीमा माओवादीले यसअगाडि जितेको आधार टिकट पाउनुपर्ने दाबी गरेका छन् । यसअगाडि माओवादीबाट निर्वाचित टोपबहादुर रायमाझी एमालेमा छन् । रायमाझी एमालेबाट चुनाव लड्दैछन् । 

‘यसअगाडि अर्घाखाँची माओवादीले जितेको हुनाले हामीले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ आचार्यले लोकान्तरसँग भने, ‘माओवादीले टिकट पाउने अवस्था आए म नै चुनाव लड्ने हो ।’ 

आचार्य सन्धीखर्क नगरपालिका वडा नम्बर– ९ अर्घाका हुन् । आचार्यले थपे, ‘गठबन्धन भएपछि मेरो गोरूको बाह्रैटक्का भन्ने पनि हुँदैन । तर, जिल्लाको प्रतिनिधिसभा क्षेत्रमा हाम्रो दाबी पहिलो हो र हुनु पनि पर्छ ।’ 

आचार्यले २०५६ मा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा निर्वाचन जितेका थिए । उनी पाँच वर्षअगाडि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्