०३ असार २०८३, बुधबार

सावित्रा कामीले पाइन् आफ्नै नामको नागरिकता

सावित्रा कामीले पाइन् आफ्नै नामको नागरिकता

नागरिकतामा अपमानित नाम कुकुर्नी कमिनी लेखिएका कारण समाजमा सास्ती झेलिरहेकी ताराखोला गाउँपालिका–४ की सावित्रा कामीले ३५ वर्षपछि आफ्नै नामको नागरिकता पाएकी छन् ।

अपमानित नामका विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले नाम संशोधन गर्न निर्देशनसहित सबै जिल्ला प्रशासनलाई परिपत्र गरेपछि उनले जिल्ला प्रशासन कार्यालय बागलुङमा नागरिकता सच्याउनका लागि निवेदन दिएकी थिइन् । 

नयाँ नामको नागरिकता पाएपछि फुरुङ्ग हुँदै ५६ वर्षीया सावित्रले आफ्नो जीवनको ठूलो सपना पूरा भएको बताइन् । ‘नागरिता देखाउन पनि शरम भएको थियो, अब त केही चिन्ता छैन, ढुक्कले नागरिकता बोक्न सक्छु,’ सावित्राले हाँस्दै भनिन् ।  

नागरिकताको नाम सच्याउन सकिने हल्ला सुनेलगत्तै उनी पतिसँगै वडा कार्यालय पुगेकी थिइन् । ४ नम्बर वडाका अध्यक्ष जीतबहादुर खत्रीले उनलाई परामर्श तथा कानूनी र सहयोग सिफारिस गरेका थिए । लगत्तै नाम संशोधनका लागिी आवश्यक कागजपत्र बोकेर बिसौना गाउँबाट उनीहरू ७० किलोमिटर टाढा जिल्ला प्रशासन कार्यालय बागलुङ पुगेका थिए । 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले सावित्रालाई सोमवार नागरिकताको प्रतिलिपि प्रमाणपत्र दिएका छन् । नाम सच्चिएको नागरिकता पाएपछि सावित्रासँगै रहेका उनका पति हस्तराम, छोरा भविलाल र छोरी खुशी भएका छन् ।

सबैले कुकुर्नीको छोरो भनेर जिस्क्याउँदा छोरा भविलालले ५ कक्षा पढ्दापढ्दै विद्यालय छाडेका थिए । अहिले उनी ३० वर्षका भइसकेका छन् । ‘सायद पहिल्यै सच्चिएको भए मैले पढाइ छाड्नुपर्ने थिएन होला तर जे भए पनि अब ढियो भयो राम्रो भयो,’ उनले भने ।

म्याग्दीको मालिका गाउँपालिका–५ अर्मनमा २०२३ सालमा जन्मेकी सावित्रीको बोली त्यति प्रस्ट छैन । अपाङ्गताका कारण सावित्राले आफ्नो नामबारे बताउन नसक्दा घुम्ती टोलीका सदस्यले ‘कुकुर्नी कमिनी’ राखिदिएको हुनसक्ने अड्कल गरिएको छ । नागरिकता संशोधन भएकाले अब सावित्राको मतदाता परिचयपत्र पनि संशोधन हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताएका छन् । 

उनको नामको समस्याका विषयमा लोकान्तरमा दिलनिशानी मगरले स्तम्भ समेत लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्