
बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । यस क्षेत्रको ‘ड्रिम प्रोजेक्ट’ २ हजार ७०० क्षमताको मोफसलकै ठूलो र सुविधा सम्पन्न सभाहल ८ वर्षमा तयार भएको हो । सम्मेलन केन्द्र आकाशबाट हेर्दा चन्द्र–सूर्य अंकित नेपालको झण्डा आकारको देखिन्छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिवार (भदौ ११ गते) प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । आयोजना प्रमुख धमेन्द्र पन्थीले शनिवार प्रधानमन्त्री देउवाबाट सम्मेलन केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको लोकान्तरलाई जानकारी दिए । साढे ९ बिगाहा क्षेत्रफलमा ११ सय क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा छन् ।

‘एउटा ठूलो हल १ हजार १०० क्षमताको छ’ पन्थीले भने, ‘अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना÷ठूला हलहरू छन् । सबै गरेर सम्मेलन केन्द्रको ‘क्यापासिटी’ २ हजार ७०० क्षमताको हो ।’ सबै हल वातावरणकूलित हुन् । ठूलो हलको मात्र इन्टेरियर गरिएको छ ।

संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँको लागतमा सम्मेलन केन्द्र बनेको हो । २०७१ साल माघ १५ गते सम्झौता भएर निर्माण शुरू भएको सम्मेलन केन्द्रले महाभूकम्प र नाकाबन्दीसँगै नदीजन्य पद्धार्थको अभाव खेप्नु पर्यो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम भएको हो । तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै निर्माण सम्पन्न गरिएको पन्थीले बताए ।
सभाहलको योजनाकार यस क्षेत्रका सांसद एमाले उपाध्यक्ष विष्णु पौडेल हुन् । पौडेलले पार्टीको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाएको बताए । ‘सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको छ’ उपाध्यक्ष पौडेलले भने, ‘यसले बुटवल अब जस्तोसुकै अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न तयार भएको सन्देश दिएको छ ।’

भौतिक रुपमा सम्मेलन केन्द्र तयार भए पनि सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । सञ्चालन कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउनुपर्ने आयोजना प्रमुख पन्थीले बताए ।
संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको छ । बुटवल उपमहानगरले आफैँ सञ्चालन गर्ने गरी यसअघि नै सहमति भए पनि यसको सञ्चालन खर्च ठूलो हुने भएकाले जोखिम रहेको सरकारकै अधिकारीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुटवलमा बढ्दो शहरीकरणका कारण सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने जनप्रतिनिधिहरूको भनाइ छ ।

आयोजनाका अनुसार सम्मेलन केन्द्रको सञ्चालन खर्च वार्षिक ३ करोड रुपैयाँ आउने पन्थीको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दिगो रूपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको पन्थीले बताए ।

सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६.५ बिगाह क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणाधीन छ । सम्मेलन केन्द्र तयार भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त भएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको भवन करिब तयार हुने चरणमा छ । ६१ प्रतिशत भौतिक प्रगति भएको पन्थीले बताए । उनका अनुसार ट्रष्टको काम भए पनि केही सामानहरू बाहिरबाट ल्याउनु परेकाले ढिलाइ भइरहेको छ ।
बुटवल मण्डपमा रुपन्देहीका संघसंस्थाहरूले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए । तर, यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुँदा यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, वर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सक्नेछन् । प्रर्दशनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ । म्याद सकिएकाले आयोजनाले पुन म्याद थप्ने तयारी गरेको छ ।
निर्माण र परीक्षणसमेत भइसकेको सम्मेलन केन्द्र छिटो सञ्चालनमा ल्याउन निजी क्षेत्रले माग गर्दै आएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले सम्मेलन केन्द्र बुटवलका लागि अति आवश्यक भएको बताए ।