
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई सर्कुलर पठाएको छ । कांग्रेसले प्रदेश, जिल्ला , प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिलाई सर्कुलर पठाउँदै प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
जसअनुसार मातहतको कमिटीको बैठक बसेर प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिक तर्फका लागि एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न भनिएको छ । सो सिफारिस भदौ १६ गतेभित्र (एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा) जिल्ला कार्यसमितिमा पठाउनु पर्ने महामन्त्री गगन थापाले जानकारी दिए ।
यस्तै जिल्लाले सो नाम भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाले भने सिफारिस भदौ १८ भित्र सोझै प्रदेश कार्यसमितिमा पठाउनुपर्ने छ भने प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी भदौ २० भित्र केन्द्रमा पठाउनुपर्ने सर्कुलरमा उल्लेख छ ।
केन्द्रमा प्राप्त हुने नाम र गठबन्धनमा हुने भागबण्डाका आधारमा उम्मेदवारी टुंगो लगाइने कांग्रेसले स्पष्ट गरेको छ । गठबन्धनका अन्य दलले भाग पाउने निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवार नहुने काँग्रेसले सर्कुलरबाटै स्पष्ट गरेको छ ।