२३ जेठ २०८३, शनिबार

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव गरिँदै

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव गरिँदै
प्रतिकात्मक तस्वीर

दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुंगाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएकोे छ ।

दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय वासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको हो ।

टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताए । ‘तटीय क्षेत्रका समस्या थुप्रै छन्, थुप्रै समस्या भएर पनि स्थानीयले जलचर संरक्षण गरिरहनुभएको छ,’ उनले भने, ‘नगरपालिकाको स्रोतले भ्याउने सहयोग रहन्छ । हामी संरक्षण, पर्यापर्यटन विकासका लागि काम गर्ने योजनामै छौं । हामीले नसके प्रदेश र संघीय सरकारमा पहल समेत गर्नेछौं ।’

नगर उपप्रमुख खडकबहादुर शाहले डल्फिन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै एकमत रहेको जनाउँदै नगरपालिका मात्रैको बजेटले सम्भव नभएकाले सबैले पहल र प्रयास गर्न आवश्यक रहेको बताए । ‘हामी स्थानीयले संरक्षणका क्षेत्रमा पुर्‍याएको प्रयासमा खुशी छौं,’ शाह भन्छन्, ‘सबै मिलेर विकास गर्ने हो । संकटमा रहेका प्राणी संरक्षणका लागि भएका कानु्न कार्यान्वयन गर्नुपर्छ ।’

डिभिजन वन पहलमानपुर कार्यालयका वन अधिकृत गोकुल रिजालले जलचर संरक्षणका लागि प्रदेश सरकारको प्रतिनिधिका रूपमा डिभिजन वन कार्यालयबाट हुने सबैखाले सहयोग गर्ने बताए ।
 
वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जलचर, उभयचर तथा वन्यजन्तु संरक्षण अभियानमा साथ रहने बताउँदै यहाँको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले २ दशकदेखि आफू सहितका युवा स्थानीयस्तरमा संरक्षणका लागि काम गर्दै आएको बताउँदै अब सरकारको साथ चाहिएको बताए । ‘डल्फिन संरक्षण क्षेत्र समेत रहेको टीकापुर नगरपालिका–७, भजनी नगरपालिका–८ र ३ स्थित घडियाल गोही पाइने गरेका छन्,’ उनी भन्छन्, ‘आजभोलि मोहना, पथरैया, काँढा नदीको दोभानमा २ दर्जन बढी घडियाल गोही देखिने गरेका छन् । यिनको संरक्षण आवश्यक छ । त्यसैले हामी लागिरहेका छौं ।’

कार्यक्रम डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले आयोजना गरेको हो । नदीमा पानी जलचर संरक्षणका लागि यहाँ साताव्यापीरूपमा विभिन्न कार्यक्रम गरिने भएका छन् । ७ दिनसम्म डल्फिन अवलोकन, ओत संरक्षण सम्बन्धी कार्यक्रम, चरा अवलोकन, सरसफाइ, गिद्द सचेतना दिवस, वत्तृmत्वकला प्रतियोगिता, वृक्षरोपण लगायतका कार्यक्रम गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए ।

यसैगरी दुर्लभ डल्फिन र घडियाल संरक्षण क्षेत्र घोषणाका लागि सांसद, मन्त्री, नगर प्रमुख/उपप्रमुखलाई एसएमएस पठाउने, सञ्चारकर्मी तथा संरक्षणकर्मीलाई सम्मान, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिनेछन् । बैदीस्थित नदीका दोभानमा नजिकबाट डल्फिन अवलोकन गर्न आजभोलि दैनिक दर्जनौं नागरिक आउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्