
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोधका कार्यक्रमले शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको भन्दै उक्त समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
सोमवारको बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यालयका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु ।’
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले त्रिविको समस्या समाधान गर्न सरकारका नाममा रुलिङ गर्न माग गरेका थिए ।