
उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको बिभत्स हत्या भएको छ । नाताले दाजु पर्ने नरबहादुर बस्नेतले भाइ, बुहारी र भतिजाको हत्या गरेका हुन् । नरबहादुरले भाइ ३७ वर्षीय राजकुमार बस्नेत, बुहारी (राजकुमारकी श्रीमती) ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय भतिज (राजकुमारका छाेरा) सुजन बस्नेतको खुकुरी हानेर बिभत्स हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।
उनीहरू तीनै जनाको शव शुक्रवार दिउँसो १ बजे वादिङ खोलामा भेटिएको थियो । हत्यामा संल्गन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव शुक्रवार साँझसम्म खाेलामै छ ।
बेलका नगरपालिका वडा नम्बर ७ का वडा सदस्य टेकबहादुर कार्कीका अनुसार आमा छोरोको शव नजिकै रहेको छ भने बुबा राजकुमारको शव १ सय मिटर पर भेटिएको थियो । ‘तीनै जना बिहान खेत गोड्न गएका रहेछन्, खेत गोडेर घर फर्कने क्रममा उनीहरूको हत्या भएको जस्तो देखिन्छ’, उनले भने ‘शवको प्रकृति हेर्दा पहिला बुबालाई हत्या गरेर पछि आमा छोराको हत्या गरेको देखिन्छ ।’
आमा छोराको शव भेटिएको नजिकै दुई भारी घाँससमेत छ । खोला पारीपट्टी दुई भारी घाँस राखिएको वडा सदस्य कार्कीले बताए । घाँस लिएर उनीहरू घर जाने तयारीमा रहेकाे देखिएको उनले बताए । घर जाने बाटोमा घाँसको भारी राखिनु र पारीपट्टी शव भेटिएकाले उनीहरूलाई खेदाउँदै लगेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
नरबहादुर र राजकुमारको सम्बन्ध राम्रै भएको छरछिमेकीहरूले बताए । अब राजकुमारका दुई बहिनी छोरी र दुई जना आमा मात्रै घरमा रहेका छन् । आफ्नी आमा र शौतेनी आमा राजकुमारसँगै बसेका थिए ।
इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट घटनास्थलसम्म पुग्न ६ घण्टा लाग्छ । आधा बाटोसम्म मात्रै गाडी पुग्छ । शवको मुचुल्का भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए ।
राजकुमारसँग सामान्य भनाभन हुँदा आवेगमा आएर हत्या गरेको नरबहादुरले प्रहरीलाई बताएका छन् । पहिला राजकुमारसँग भनाभन भयो त्यही समयमा आवेशमा आएर हत्या गरे भनेर सोधपुछका क्रममा नरबहादुरले बताएकाे फुयाँलले जानकारी दिए ।
राजकुमारको हत्यापछि अब आमा छोरालाई पनि बाँकी राख्दिन भनेर तुरुन्तै सोच बनाएर हत्या गरेको उनले प्रहरीलाई सोधपुछका क्रममा बताएका छन् । ‘थप कारण खुलेको छैन’, प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने, ‘हत्यामा संलग्न एक्लै हो कि अन्य पनि छन् भने अनुसन्धान बढाइरहेका छौँ ।’