
संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ । समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुपर्ने हुनाले विशेषज्ञको टिम गठन गर्ने तयारी भएको हो ।
‘उहाँ(जबराले) बयानका क्रममा आफ्नै सहकर्मी न्यायाधीशहरूदेखि नेपाल बारका पदाधिकारीसहित विभिन्न व्यक्तिहरूलाई मुछ्नु भएको छ’, साहले लोकान्तरसँग भने, ‘ती व्यक्तिहरूसँग पनि सोधपुछ गर्नुका साथै विभिन्न कागजातहरूको अध्ययन गर्नका लागि कानून तथा न्याय क्षेत्रका विज्ञहरूको टिम गठन गर्ने समितिले सोच बनाएको हो ।’
निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले लिएको बयान ११औँ प्रश्नमा पुगेर तेस्रो दिन आइतवारका लागि स्थगित भएको छ । जबराले आइतवार ४ वटा प्रश्नको जवाफपछि सांसदहरूको कार्यव्यवस्तताका कारण बैठक स्थगित भएको समिति सदस्य एकवाल मियाले जानकारी दिए ।
‘आज ७ देखि ११ नम्बरसम्मका प्रश्नका सम्बन्धमा बयान सकियो,’ मियाले भने, ‘सांसदहरूको चुनावी तयारी, उम्मेदवार सिफारिसको काम आदि कारणले २५ गतेसम्मलाई बैठक स्थगित भयो ।’
जबरालाई सोध्न समितिले ४३ वटा प्रश्न तयार पारेकोमा ३ दिनमा जम्मा ११ वटा प्रश्नमाथिको बयान मात्र सकिएको छ ।