२१ जेठ २०८३, बिहीबार

विद्युतीय सवारी साधन किन्न ऊर्जामन्त्री भुसालकाे आग्रह

विद्युतीय सवारी साधन किन्न ऊर्जामन्त्री भुसालकाे आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत् जडान हुने बताएकी छन् । अहिले करिब ९५ प्रतिशत जनताको घरमा विद्युत् पुगिसकेको भन्दै उनले दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलव्ध गराउने गरी सरकारले काम गरिरहेको बताइन् ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमवार रुपन्देहीको मैनहियामा उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन् । ‘यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ । विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने छ, त्यसैले म सवारी किन्न चाहनेहरूलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु’, उनले भनिन् ।

सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । ‘अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ’, उनले भनिन् ।

ऊर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिँचाईका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने पनि मन्त्री भुसालले बताइन् । अन्य आयोजनाहरू समयमै पूरा नहुने परिपाटीका बीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको विजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।

अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्ब भारतीय रुपैयाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत् दक्षिण एशियामै सस्तो रहेको दाबी गरे । अब प्राधिकरण गुणस्तरीय विद्युत् आपूर्तिका लागि काम गर्ने पनि उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् ।

आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अब भैरहवा क्षेत्रको विद्युत् समस्या हटेको बताए । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको पाण्डेले बताए ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्