२० असार २०८३, शनिबार
प्रतिनिधि सभा निर्वाचन

प्रतिनिधि सभामा प्रदेश १ बाट एमालेका १२ उम्मेदवार सर्वसम्मत सिफारिस

भदौ २१, २०७९
प्रतिनिधि सभामा प्रदेश १ बाट एमालेका १२ उम्मेदवार सर्वसम्मत सिफारिस
फाइल तस्वीर

प्रतिनिधि सभातर्फ प्रदेश १ बाट नेकपा एमालेले १२ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ । एकल सिफारिस गरिएकामध्ये दुई जना पदाधिकारी छन् । 

हालसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सर्वसम्मत सिफारिसमा परेका हुन् । एमाले सचिव योगेशकुमार भट्टराई भने एकल सिफारिसमा पर्न सकेनन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा–५ बाट सर्वसम्मत सिफारिस भएका छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो पटक ओलीले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई झन्डै दोब्बर मतले जितेका थिए । 

२०७४ मा वाम गठबन्धन हुँदा सहजै जित निकाल्ने अनुमान गरिए पनि ओलीले धेरै मतान्तर देखाउन राप्रपासँग चुनावी तालमेल गरेका थिए । ओलीले अधिकारीलाई २८ हजार ८८२ को फराकिलो मतान्तरले पराजित गरेका थिए । ओलीले ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २५७ मत मात्र ल्याएका थिए ।

२०५६ सालदेखि इलामबाट लगातार चुनाव जितेका एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट सर्वसम्मत सिफारिस भएका छन् । नेम्वाङ दुईपटक संविधान सभाको अध्यक्ष भइसकेका छन । वाम गठबन्धनबाट उम्मेदवार बनेका नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका गर्दै संसदमा छिरेका थिए । नेम्वाङले ३६ हजार ५१७ मत ल्याउँदा थापाले २६ हजार ८६५ मत ल्याएका थिए । 

२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट विजयी बनेका भानुभक्त ढकाल केपी ओली प्रधानमन्त्री हुँदा तीनपटक मन्त्री हुने अवसर पाएका थिए । उनले कानून, पर्यटन र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

अघिल्लो निर्वाचनमा ढकालले नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेसका महासमिति सदस्य सुनिल शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार ४१३ मत पाउँदा शर्माले ४० हजार ५०७ मत पाएका थिए । ढकाल यसपटक पनि सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । 

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको पाँचथरबाट वसन्तकुमार नेम्वाङ पुनः उम्मेदवार बन्ने भएका छन् । २०७४ को निर्वाचनमा विजयी भएका नेम्वाङ भौतिक पूर्वाधार मन्त्रीसमेत भएका थिए । २०७४ को निर्वाचनमा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई पराजित गर्दै नेम्वाङ सांसद बनेका थिए ।  नेम्वाङले ३८ हजार ६४२ मत पाउँदा आङदेम्बेले २८ हजार ५ मत ल्याएका थिए ।

विजयकुमार गच्छदारसँग दुई पटक पराजित भएकी भगवती चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत सिफारिस भएकी छन । अघिल्लो निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी बन्दा भगवतीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन । हार ब्यहोरेपछि भगवतीले पुनः मतगणनाको लागि अदालत गुहारेकी थिइन् । तर, उनको मुद्दा प्रतिनिधि सभाको कार्यकाल सकिदासम्म विचाराधीन अवस्था मै छ । उनीसँग जितेका गच्छदार पनि भ्रष्टाचार मुद्दामा निलम्बित अवस्थामा छन् । 

झापा–१ बाट रविन कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ । उनले २०७० को संविधान सभा निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । 

सुनसरी क्षेत्र नम्बर–१ बाट बहालवाला सांसद जयकुमार राईको नाम सर्वसम्मत सिफारिस भएको छ । सो क्षेत्रबाट प्रदेश १ का निवर्तमान मुख्यमन्त्रीसमेत रहेका भीमप्रसाद आचार्यको नाम भने सिफारिस भएको छैन । आचार्यले सुनसरी –१ बाट चुनाव लड्ने इच्छा राखेका थिए । तर, उनी छनोट चरणबाटै फालिएका छन् । 

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट जयकुमार विजयी भएका थिए ।

कांग्रेससँग जसपाको गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता अशोक राईलाई हराउँदै उनी विजयी बनेका थिए । जयकुमारले ४४ हजार ५२८ मत ल्याउँदा अशोकले २२ हजार १२३ मत मात्र पाएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट विजयी भएका लालप्रसाद साँवा पनि सर्वसम्मत उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनका साँवाले कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका थिए ।  साँवाले ४३ हजार ५१५ मत पाउँदा थेवेले २६ हजार ८२२ मत पाएका थिए ।

इलाम १ बाट महेश बस्नेतलाई एमालेले उम्मेदवार बनाउने भएको छ । उनको नाम सर्वसम्मत सिफारिस भइसकेको छ । गत चुनावमा सो क्षेत्रबाट हाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निर्वाचित भएका थिए । उनी एमालेका तर्फबाट विजयी बनेका थिए ।

मोरङ क्षेत्र नम्बर–४ बाट केन्द्रीय सदस्य विनोद ढकाल सर्वसम्मत सिफारिस भएका छन् । गत चुनावमा सो क्षेत्रबाट माओवादी केन्द्रका अमनलाल मोदीले जितेका थिए । 

मोरङ क्षेत्र नम्बर–२ मा एमालेले जिल्ला अध्यक्ष  ऋषिकेश पोखरेलको एकल नाम सिफारिस गरेको छ । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा भने सोही क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजालसँग पराजित बनेका थिए । रिजालले ३५ हजार ८१९ मत ल्याउँदा पोखरेलले ३४ हजार १४ मत ल्याएका थिए । 

सोलुखुम्बुमा एमालेले मानवीर राईको एकल नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा  माओवादी केन्द्रका हेमकुमार राई निर्वाचित भएका थिए । उनले कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई पराजित गरेका थिए । 

गत चुनावमा वाम गठबन्धन गरेर चुनावी मैदानमा गएको एमाले यसपटक पार्टी फुटको क्षतिसहित अन्य केही साना दललाई साथमा लिएर जाने तयारीमा छ । प्रदेश १ का १४ जिल्लामा २७ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा ६, सुनसरीमा ४, झापामा ५, इलाम र उदयपुर २/२ वटा निर्वाचन क्षेत्र रहेका छन् । धनकुटा, भोजपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर तेह्रथुम धनकुटा, संखुवासभा जिल्लामा एक/एकवटा निर्वाचन क्षेत्र रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्