
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न निर्वाचन प्रभावित गर्न सरकारले आफू निकटका कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ ।
एमालेले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक विशाल भट्टराईले कामचलाउ सरकारले चुनाव प्रभावित गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख र कार्यकारी अधिकृतको सरुवा गरेको आरोप लगाएका हुन् ।
‘कामचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्त्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गरिरहेको छ । निर्वाचन प्रभावित गर्ने गरी छानीछानी सीडीओ र प्रहरी लगिएको छ,’ भट्टराईले भने, ‘रिक्त भएको ठाउँमा निर्वाचन आयोगको सहमति लिएको भए हामीले विरोध गर्ने थिएनौं । अहिले मिल्ने भए झण्डै बोक्नेलाई जिल्लामा पठाउने काम गरिरहेको छ ।’
स्वतन्त्र निर्वाचनमा हस्तक्षेप गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी एमालेले दिएको छ । ‘सबै खाले सरुवा बन्द गर्ने, निर्वाचन भएपछि गरिएका नियुक्ति बन्द गरेर मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गर्दछौं,’ उनले भने ।