
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी २ वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद डा. भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफलका क्रममा उनले सो कुरा बताएकी हुन् ।
मुुलुकभित्र उपलब्ध जलविद्युत्को उत्पादन तथा समुचित विकासबाट उज्यालो नेपाल बनाउन सरकारसँग स्पष्ट मार्गचित्र रहेको उल्लेख गर्दै उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार उत्पादन गर्न नसकिएको उल्लेख गरिन् । मुलुकभित्र लोड सेडिङ अन्त्य भएको जनाउँदै मन्त्री भुसालले जलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रले गरेको भूमिका प्रसंशनीय रहेको बताइन् ।
जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगंगा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी गराइन् । माथिल्लो कर्णाली आयोजनाका सन्दर्भमा जीएम आर कम्पनीसँग भएको सम्झौताबारे जानकारी गराउँदै यसबाट उत्पादित विद्युत् बंगलादेशसम्म निर्यात गर्न सकिने मन्त्री भुसालले बताइन् ।
उनले पश्चिम सेती जलविद्युत् आयोजनाका विषयमा हालसम्म भएका कामका बारेमा सदनलाई जानकारी गराइन् । सांसद रावलले जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।