२५ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

सत्ता गठबन्धनको कार्यदल प्रतिवेदन फाइनल गर्न जुट्यो, सन्दीप प्रकरणले खेल क्षेत्र स्तब्ध

सत्ता गठबन्धनको कार्यदल प्रतिवेदन फाइनल गर्न जुट्यो, सन्दीप प्रकरणले खेल क्षेत्र स्तब्ध

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनको सिट भागबण्डाको मोडालिटी तय गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको छ।  काँग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतृत्वले दिएको जिम्मेवारीअनुसार कार्यदलले प्रतिवेदन तयार गरेको जानकारी दिए ।
उनले बिहीबार ९ बजे पुनः अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाइने बताए । ‘जिम्मेवारीअनुसार हामीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई बिहीबार बिहान ९ बजे बस्ने बैठकबाट अन्तिम रुप दिनेछौँ ।’
००००
कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् । बुधबार जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए।
००००
सरकारले आगामी असोज १ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बुधवार बसेको बैठकले आगामी असोज १ गते शनिवारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
००००
डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेङ्गुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले डेङ्गुको नियन्त्रणका लागि प्रदेश र स्थानीय तह सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए ।  
यसैबीच नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । 
००००
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा बुधवार पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
पूर्व क्रिकेटर तथा क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा आबद्ध क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेको बचाउ गरेका छन् । ठोस प्रमाण र आधारविना आरोप लगाउनु लगत भएको उनको भनाइ छ ।
दासले भने, ुकुनै आधार र ठोस प्रमाणविना आरोप लगाउनु गलत हो ।ुकुनै व्यक्तिको करीयरभन्दा पनि दुईवटा परिवारको विषय जोडिएकाले त्यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
००००
यसैबीच क्यानले सन्दीपलाई तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । सन्दीपमाथि १७ वर्षीय किशोरी बलात्कारको आरोप लागेपछि खेल क्षेत्र स्तब्ध बनेको छ । उनीविरुद्ध मंगलबार प्रहरीमा उजुरी परेको हो । 
००००
पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बुधवार प्रेस ब्रिफिङमार्फत ३ हजार ८३६ जनामा परीक्षण गर्दा २३० जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू प्रचण्डको आलोचक रहेको र आलोचना गरिरहने बताएका छन् । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अर्थममन्त्री समेत रहेका शर्माले आफूले गलत कुराको आलोचना गर्ने र सही कुराको समर्थन गर्ने गर्र्दै आएको बताएका हुन् । यस्तै प्रचण्डले पार्टीका नेता एवं उपमहासचिव जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो मुख्य भूमिका रहेको दाबी गरेका छन्  ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।
००००
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च रोक्ने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च नगर्न दिएको निर्देशनविरुद्ध ४ जना सांसदले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
००००
अनलाइन पत्रकार सङ्घले इन्टरनेटका माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
सङ्घका सचिव गोविन्द मरासिनीले बुधबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय बलात्कारसम्बन्धी उजुरी र अदालतको फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भइरहेका समाचारमा पत्रकार आचारसंहिता पालना नभएको भन्दै आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका हुन् ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् । 
उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग विना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
००००
शेयर बजार मापक सूचक नेप्से परिसूचक १९ सय ३९.८८ अंकमा झरेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधवार ११.९७ अंकले घटेको छ । बजार घटेसँगै अघिल्लो वर्ष ३२ सय विन्दुमा पुगेको र २१ अर्ब रुपैयाँ एकैदिन कारोबार हुन पुगेको शेयर बजार अर्बबाट घटेर करोडमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्