
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान)सँग कानूनी उपचारमा सहयोग गर्न आग्रह गरेका छन् । १७ वर्षीया एक किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुगेका लामिछानेले क्यानसँगको फोन-वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए । उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिए ।
फोन-वार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा ‘प्रोफाइलिस्ट लयर’ खोजिदिन आग्रह गरेको मल्लले जानकारी दिए । उनले यसबारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको बताए । प्रहरीले लामिछानेले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताए ।
मल्ले सन्दीपसँग भएको कुराकानीबारे यसरी सुनाएः
हिजो राति क्यानले नै सम्पर्क गर्यो । मैले नै सम्पर्क गरे । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन । भन्ने किसिमको कुरा गर्यो । क्यानले सहयोग गर्नुपर्यो । कानूनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सीपीएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भन्यो’ । प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आइसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि त्यहीअनुसार कानून अनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आइसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।