
कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार यादवले मुलुकको समग्र विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था र इजरायली राजदूतावासले संयुक्तरूपमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषि तथा पशुपालनको विकास गरी मुलुकलाई त्यस क्षेत्रमा आत्मनिर्भर बनाउन सकेमा देशको विकास तथा समृद्धि कायम हुने बताए ।
उनले कृषि ज्ञान, कृषकको सीप विकासका लागि इजरायली दूतावासलगायत अन्य संस्थाले उपलब्ध गराएको तालिमको सराहना गर्दै वैदेशिक रोजगारीमा गएका जनशक्तिले पनि स्वदेशमा फर्केर कृषि क्षेत्रको विकासमा कार्य गर्नुपर्नेमा जोड दिए ।
कृषि सचिव गोविन्द शर्माले कृषि क्षेत्रमा आधारित अर्थतन्त्रको विकास गरी कृषकलाई सशक्तीकरण गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालस्थित इजरायली राजदूत हनान गोदरले विविधतायुक्त हावापानी रहेको नेपालमा कृषि क्षेत्रको विकासमा ठूलो सम्भावना रहेको बताउँदै आफ्नो मुलुकले यहाँका कृषकलाई विभिन्न तालिम उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले एक हजार चार सय ५६ सहकारीमार्फत १० लाख ४७ हजार परिवारमा वित्तीय सेवा सञ्चालन गरेको जानकारी गराए । कार्यक्रममा सातै प्रदेशबाट उत्कृष्ट कृषि उद्यमी छनोट गरी पुरस्कृतसमेत गरिएको थियो । रासस