युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले चलाएको प्रत्याक्रमण कारवाहीले सफलता पाइरहेको खबरहरू सार्वजनिक भएका छन् ।
गत साताबाट शुरू भएको प्रत्याक्रमणका कारण युक्रेनीहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण इज्युम शहर नियन्त्रणमा लिन सफलता पाएको बताइएको छ । डोनबास क्षेत्रको प्रवेशद्वारका रूपमा इज्युमको आफ्नै महत्त्व छ ।
रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर इज्युम तथा बालाक्लेया क्षेत्रबाट आफ्ना सैनिकहरू हटाएर डोनेत्स्क क्षेत्रमा केन्द्रित गरिएको जनाएको छ । रुसी सैनिकहरू कुप्यान्स्कको दुईतिहाइ भागबाट समेत पछि हटिसकेको बताइएको छ ।
युक्रेनको स्थलसेनाको बोहुन ब्रिगेडका एक प्रवक्ताले विज्ञप्ति जारी गरी रुसीहरू भागेको र हतियार गोलीगट्ठा पनि छोडेको जानकारी दिएका छन् । इज्युमबाट अघि बढेर युक्रेनी सेना डोनेत्स्क र लुगान्स्क क्षेत्रका सीमामा तैनाथ रुसी फौजहरू नजिक पुगिसकेको सीएनएनले खबर दिएको छ ।
गत फेब्रुअरीमा रुसले युक्रेनमा सैन्य कारवाही चलाएयता युक्रेनले पाएको यो सबभन्दा ठूलो सफलता हो । रुसले कब्जा गरेको भूभाग पुनः आफ्नो नियन्त्रणमा लिनका लागि युक्रेनी सेनाले उम्दा तयारी तथा कार्यान्वयन गरेको पाइएको छ ।
रुसी सेना हतियार त्यागेर भाग्नु अनि त्यहाँका सर्वसाधारणलाई युक्रेनी सैनिकको दयामा छोड्नु रुसको असफलता नै मान्नुपर्ने हुन्छ । खार्किभमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै युक्रेनी सैनिकहरूले कतिपय नागरिकमाथि क्रूर तथा निर्मम कारवाही गरेको समाचार पनि आइरहेको छ ।
बालाक्लेया तथा इज्युम क्षेत्रमा रुसी सेना थोरै संख्यामा थिए भने स्वघोषित लुगान्स्क जनगणतन्त्रका लडाकूहरू बढी तैनाथ थिए । तिनीहरूलाई पश्चिमी हतियार तथा सूचना प्राप्त युक्रेनी सेनाले सजिलै लखेटेका हुन् ।
उनीहरू भागेपछि रुसी सेनाले आफ्ना जगेडा सैनिक रणभूमिमा उतारेको छ । तर तत्कालका लागि खार्किभ क्षेत्रलाई भन्दा पनि डोनेत्स्क र लुगान्स्क क्षेत्रलाई प्रतिरक्षा गर्ने रुसको उद्देश्य देखिन्छ ।
रुस यसरी खार्किभ क्षेत्रमा पछि हट्नुपर्दा रुससमर्थक सैन्य विश्लेषकहरू पनि स्तब्ध भएका छन् । विभिन्न टेलिग्राम च्यानलहरूमा उनीहरूले रुसी सेनाका लागि यो विपतको स्थिति भएको बताएका छन् । युक्रेनले खार्किभ क्षेत्रमा भारी संख्यामा हातहतियार र सैनिक जम्मा पारिरहेको भए पनि रुसले त्यसलाई बेवास्ता गर्दै आएकाले अहिलेको परिणाम भोग्नुपरेको उनीहरू गुनासो गर्छन् ।
अनि युक्रेनले दक्षिणी भागमा रहेको खर्सन क्षेत्रमा चलाएको प्रत्याक्रमण कारवाही छल (फेन्ट) मात्र रहेछ, त्यहाँ रुसलाई अल्झाएर खार्किभबाट चाहिँ पछि हट्न बाध्य बनाउने योजना युक्रेनले बनाएको रहेछ भन्ने कुरा प्रमाणित भएको छ । खर्सन प्रत्याक्रमणमा युक्रेनले सेना र हतियारको भारी क्षति बेहोर्नुपरेको खबर आइरहेको छ तर खार्किभमा भने उसले सफलता पाएको छ ।
खार्किभको इज्युम कनि यति महत्त्वपूर्ण छ भन्ने कुरा यो युद्धको आरम्भिक साताहरूमा रुसले त्यसलाई नियन्त्रण लिएबाट नै सिद्ध हुन्छ । युक्रेनको राजधानी किएभमा आफ्ना सैनिक तैनाथ गरेर रुसले युक्रेनी सैनिकलाई पूर्वी भागसँग जोडिन रोकेको थियो । अनि इज्युम नियन्त्रणमा लिएर रुसले डोनबास क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूलाई उपलब्ध सैन्य आपूर्ति समेत रोकिदिएको थियो ।
त्यसैले लडाइँको यस विन्दुमा आएर युक्रेनले रुसलाई इज्युमबाट हटाउनु रणनीतिक सफलता हो । अब यसमार्फत युक्रेनलाई डोनेत्स्क क्षेत्रमा रहेको स्लोभयान्स्कसँगको सैन्य सम्पर्क कायम गर्न सहज भएको छ ।
अनि युक्रेनको उत्तरी भागलाई रुसबाट मुक्त गरेर डोनबासमा रुसको स्थितिलाई पनि यसले जटिल बनाएको छ । यहाँ स्मरण गराऔं, रुसले लुगान्स्क क्षेत्र पूर्ण नियन्त्रणमा लिएको भए पनि डोनेत्स्क क्षेत्रका सबै भागमा चाहिँ नियन्त्रण कायम गर्न सकेको छैन ।
रुसी सेनाले जगेडा सैनिक ल्याएर इज्युमलाई किन प्रतिरक्षा नगरेको हो भन्ने विषयमा सैन्य विश्लेषकहरू विभिन्न तर्क प्रस्तुत गर्छन् । एकथरीले त्यस क्षेत्रमा रुसी सैनिक युक्रेनीहरूको घेराबन्दीमा पर्ने पक्का भएकाले बच्नका लागि पछि हटेको बताइरहेका छन् । अर्काथरीले चाहिँ रुसी सैनिकहरू पछि हटेर युक्रेनीलाई भित्रसम्म आउन दिने अनि पछि आफैं घेराबन्दी गरेर सिध्याइदिने योजना बनाइएको बताएका छन् ।
तर जे तर्क गरिएको भए पनि इज्युम क्षेत्रबाट रुसी सेना पछि हट्दा रुसको सैन्य कमान्ड अनिर्णयको बन्दी बनेर आफैं संकट निम्त्याएको स्पष्ट छ । यस विषयमा रुसको सैन्य तथा राजनीतिक नेतृत्वले चाँडो सम्बोधन नगरेमा रुसी नेतृत्वप्रति नै प्रश्न उठ्ने खतरा छ ।
रुसी सैन्य विश्लेषकहरू सेनाको विद्यमान कमान्ड प्रणालीलाई सुधार गर्नका लागि महत्त्वपूर्ण तथा क्रान्तिकारी कदम नचालिएमा रुसले पूर्वी युक्रेनमा पराजय बेहोर्ने चेतावनी दिइरहेका छन् ।
टीबीएक्स छद्मनाम भएका एकजना विश्लेषकले बेलगोरोड र कुर्स्क क्षेत्रमा रुसको विशाल वायुसेनालाई ल्याउने कुरा गरिएको तर अहिले आवश्यक परेको बेलामा तिनलाई इज्युममा किन उपयोग नगरिएको भनी प्रश्न गरेका छन् । त्यससँगै युक्रेनी सेनालाई एकैपटक धेरै मोर्चामा लड्नका लागि छर्ने रणनीतिअन्तर्गत रुसको उत्तरी मोर्चालाई किन सक्रिय नबनाइएको भनेर पनि उनले जिज्ञासा राखेका छन् ।
डोनबास क्षेत्रलाई चारैतिरबाट घेरेर युक्रेनीहरूलाई घुँडा टेकाउने रणनीति नअपनाउँदा अहिलेको स्थिति आएको उनी आरोप लगाउँछन् । डोनबास क्षेत्रबाट अघि बढ्दै खार्किभमा सुरुङ र किल्ला खन्नका लागि युद्धको आरम्भमै रुसी विश्लेषकहरूले सुझाव दिएको भए पनि त्यसलाई बेवास्ता गरिँदा इज्युम गुमेर डोनबास समेत जोखिममा परेको उनको भनाइ छ ।
तर बिग सर्ज छद्मनाम भएका अर्का विश्लेषक इज्युमबाट पछि हट्नु रुसको रणनीतिक चाल भएको बताउँछन् । उनका अनुसार, रुसले अपरेसनल डेप्थ नामक सैन्य रणनीति अन्तर्गत यो कदम चालेको हो । अपरेसनल डेप्थ भनेको शत्रुको सेनालाई अगाडिबाट आक्रमण गर्ने नभई शत्रुलाई थला पार्ने गरी उसको पछाडिको भागमा आक्रमण गर्ने हो ।
त्यसक्रममा शत्रुको सम्पर्क सूत्र, आपूर्ति केन्द्र, कमान्ड केन्द्र, जगेडा सैनिक तथा अन्य कुरामा आक्रमण गरिन्छ । शत्रुसँग सिधै भिडन्त नगरी उसलाई सेना नै जम्मा पार्न नसक्ने गरी आघात पुर्याउने काम अपरेसनल डेप्थले गर्छ ।
हुन पनि अहिले युक्रेनी सेनाले इज्युममा रुसको कुनै प्रतिकारविना नै सहज विजय प्राप्त गर्नुमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छ । अझ युक्रेनीहरूले खार्किभमा थप जगेडा सैनिक पठाएर भयानक आक्रमण गरी रुसलाई ठूलो पराजय चखाउने भनिरहेका छन् ।
अर्थात्, उनीहरू व्यापक संख्यामा आफ्ना सैनिक त्यहाँ परिचालन गर्न खोजिरहेका छन् । त्यसो गरी उनीहरू कतै रुसी सेनाको चक्रव्यूहमा फसिरहेका त छैनन् ? बढीभन्दा बढी युक्रेनी सैनिकलाई खार्किभमा भेला पारेर घेराबन्दी गरी एकैपटक सोत्तर पार्ने रणनीति रुसी सेनाले बनाएको हुन सक्छ ।
रुसी विश्लेषक कोन्स्टान्टिन सिभकोभ पनि युक्रेनी सैनिकहरूलाई किल्लाबन्द क्षेत्रबाट बाहिर ल्याउनका लागि रुसी सेना इज्युमबाट पछि हटेको बताउँछन् । रुसको प्रतिरक्षा यस क्षेत्रमा कमजोर छ अनि युक्रेनले प्रत्याक्रमण कारवाही गर्दैछ भन्ने ज्ञान नभएको भनी शत्रुलाई झुक्याउनका लागि विभिन्न उपाय अपनाइएको उनी बताउँछन् ।
अब युक्रेनी सैनिकहरूलाई एक ठाउँमा भेला पारेर आक्रमण गर्ने रुसको योजना रहेको उनले संकेत गरेका छन् । उनको जस्तै दाबी बेलायती विश्लेषक अलेक्जेन्डर मर्कोरिसले पनि गरेका छन् ।
तर यी सब अनुमानको कुरा हुन् । रुसले साँच्चिकै युक्रेनी सेनाको घेराबन्दी गरेर तिनलाई सोत्तर बनाएछ भने बल्ल यी अनुमानलाई पत्याउन सकिनेछ ।
अनि युक्रेनले खर्सन र खार्किभमा प्रत्याक्रमण कारवाही गर्दा रुसको सैन्य प्रतिष्ठामा आघात पुग्ने काम हो । यस युद्धमा रुसले आफ्ना सैनिकहरू धेरैवटा क्षेत्रमा एकैपटक परिचालन गरेकाले दह्रो कारवाही चलाउनै सकेको छैन । युद्ध लम्बिँदै जानुको एक कारण यो पनि हो ।
अझ त्यसमाथि नियन्त्रणमा लिएका भूभागमा अग्रपंक्तिमा थोरै मात्र रुसी सैनिक छन्, अरू डोनबास क्षेत्रका रुससमर्थक लडाकूहरू हुन् । उनीहरूले बढीमा युक्रेनी सेनालाई अघि बढ्न रोक्ने अनि रुसका जगेडा सैनिकको प्रतीक्षा गर्ने मात्र हो । यसले गर्दा युक्रेनीहरूलाई खार्किभमा गुमेको भूभाग पुनः फिर्ता लिन सफलता मिलेको हो ।
तर त्यति हुँदाहुँदै पनि युक्रेनको २० प्रतिशतभन्दा बढी भूभागमा रुसको नियन्त्रण हुनु आफैंमा ठूलो सफलता हो । युक्रेनको प्रत्याक्रमणलाई बेलैमा रोक्न नसकेमा चाहिँ रुसलाई त्यो नियन्त्रण कायम राख्न धौधौ पर्नेछ ।
त्यसले युद्धको दिशालाई नै परिवर्तन गर्न समेत सक्नेछ । खार्किभमा युक्रेनी सेनाले सफलता पाएपछि अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन पनि उत्साहित भएका छन् र युक्रेनलाई थप सहायता गर्ने बताइरहेका छन् । हिमार्स लगायतका अमेरिकी घातक हतियारको बलमा युक्रेनले पाएको यो सफलता कत्तिको स्थायी हुनेछ, समयले देखाउनेछ ।
पढ्नुहोस्, यो पनि :