
भारतको वाराणसीमा रहेको शृंगार गौरी–ज्ञानवापी मस्जिद मुद्दामा जिल्ला अदालतका न्यायाधीश कृष्ण विश्वेशको इजलासले सोमवार हिन्दूहरूको पक्षमा फैसला गरेको छ ।
अदालतले शृंगार गौरीमा पूजाको अधिकार पाउनुपर्ने मागदाबी सहितको निवेदनलाई सुनुवाइ गर्न योग्य भनी फैसला गरेको हो । अब १० दिनपछि यस मुद्दामा अर्को सुनुवाइ गरिनेछ ।
मुस्लिम पक्षले यसलाई चुनौती दिँदै उच्च अदालत जाने अनुमति पनि दिइएको छ ।
अदालतको आदेश बमोजिम गरिएको सर्वेमा पनि बहस हुनेछ ।
जिल्ला अदालतको फैसलापछि हिन्दू पक्ष खुशी भएको छ । उनीहरूले अदालतबाहिर मिठाइ बाँडेका थिए ।
सुनुवाइ गरिने फैसला आएपछि निवेदक सोहनलाल आर्यले यो हिन्दू समुदायको जीत भएको बताए । उनले मानिसहरूलाई शान्ति बहाल गर्न पनि भने ।
हिन्दू पक्षले ज्ञानवापी परिसरमा रहेको शृंगार गौरी समेत अन्य धार्मिक स्थलमा नियमित पूजा अर्चनाको अनुमति दिनुपर्ने मागदाबी गरेको थियो । सुनुवाइका क्रममा मुस्लिम पक्षले अदालतमा यो मुद्दाको दलील पुष्टि गर्न नसकिने किसिमको भएकाले खारेन गर्न माग गरेको थियो ।
अदालतले मुस्लिम पक्षको माग खारेज गर्दै सिभिल प्रक्रिया संहिताको आदेश ७ नियम ११ अन्तर्गत यस मुद्दामा सुनुवाइ हुन सक्ने फैसला गरेको हो ।