
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सोमवार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका थिए । बैठकमा आज पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘एउटै निर्वाचन क्षेत्रमा धेरै दलहरूको दाबी रहेको छ । त्यसमा सहमति जुटाएर गठबन्धनको एउटै उम्मेदवार तय गर्नुपर्छ । त्यसका लागि गठबन्धनमा रहेका दलहरू लचिलो हुन आवश्यक छ’, कार्कीले भने ।
गठबन्धनका धेरैजसो नेताहरूले बालुवाटारमै खाना खाएर बैठकमा जुटेका थिए । बिहान ८ बजेदेखि १२ बजेसम्म बैठक बसेपछि नेताहरू खाना खाने ब्रेकमा गएका थिए । फेरि दिउँसो २ बजेबाट बसेको बैठक बिनानिष्कर्ष टुंगिएको मन्त्री कार्कीले बताए ।
गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू पनि बैठकमा सहभागी भएका थिए ।
सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेलको सहमति गरेका छन् । तर, उनीहरूले सिट बाँडफाँट भने गर्न सकेको छैन ।
साउन २० गते सिट बाँडफाँटको लागि कार्यदल बनाएर काम थालेको गठबन्धनले चुनावी तालमेलको गाँठो अझै फुकाउन सकेको छैन ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका शीर्ष नेताहरू बैठकमा सहभागी भएका थिए ।