२३ जेठ २०८३, शनिबार
विश्वलाई आणविक जोखिम

उत्तर कोरियाले बनायो आणविक हतियार उपयोग सम्बन्धी नयाँ कानून, के हो किम जोङ उनको रणनीति ?

भदौ २८, २०७९
उत्तर कोरियाले बनायो आणविक हतियार उपयोग सम्बन्धी नयाँ कानून, के हो किम जोङ उनको रणनीति ?
KCNA via KNS/AFP

उत्तर कोरियाले आफ्नो स्थापनाको ७४औं वार्षिकोत्सवको अवसरमा आणविक हतियारसम्बन्धी आफ्नो कानूनलाई थप कठोर बनाएको छ । 

गत शुक्रवार (९ सेप्टेम्बर)मा वार्षिकोत्सव मनाएको उत्तरले किम जोङ उनलाई सत्ताच्युत गर्न अमेरिका वा दक्षिण कोरियाले कोशिश गरेमा आणविक हतियारको उपयोग गर्न सकिने गरी कानून बनाएको हो । बिहीवार उत्तरको संसद् चौधौं सुप्रिम पिपुल्स एसेम्बलीको सातौं सत्रले उक्त कानून पारित गरेको हो । 

उक्त सत्रमा सम्बोधन गर्दै किमले आफूलाई सत्ताच्युत गर्ने लक्ष्य अमेरिकाले लिएको र त्यस लक्ष्यप्राप्तिका लागि उत्तरलाई आणविक निःशस्त्रीकरण गर्न खोजेको बताए । त्यसैले किममाथि आक्रमण हुने संकेत पाइएमा उत्तर कोरियाली सेनाले शत्रुका विरुद्ध आणविक आक्रमण गर्न सक्ने अनुमति नयाँ कानूनले दिएको छ । 

त्यसका अतिरिक्त उत्तर कोरिया वा देशको नेतृत्वविरुद्ध परम्परागत वा आमविनाशकारी हतियार हुन लागेको प्रमाण भेटिएमा त्यसलाई रोक्न उत्तरले निवारक आक्रमण (प्रिएम्पटिभ स्ट्राइक) गर्न पनि नयाँ कानूनले अनुमति दिएकाे छ । अर्थात्, राष्ट्रिय प्रतिरक्षा तथा शत्रु निवारणका लागि आणविक हतियार राखेको तर्क गर्ने उत्तरले अब आणविक हतियारको प्रथम प्रयोग समेत गर्न सक्ने भएको छ । 

सन् २०१३ मा उत्तरले बनाएको कानूनलाई नयाँ कानूनले विस्थापित गरेको हो । पुरानो कानूनमा उत्तरले आणविक हतियारसम्पन्न शत्रुको आक्रमण रोक्न वा प्रत्याक्रमण गर्नका लागि मात्र आणविक हतियार उपयोग गर्ने व्यवस्था थियो । अहिले चाहिँ गैरआणविक हतियारको उपयोग रोक्नका लागि समेत आफूले आणविक हतियार प्रहार गर्न सक्ने गरी उत्तरले कानून बनाएको हो । 

यस कानूनले आणविक हतियार नभएका मुुलुकमाथि आक्रमण नगर्ने तर त्यस्ता मुलुकले आणविक हतियारसम्पन्न मुलुकसँग साँठगाँठ गरी उत्तरमाथि प्रहार गरेमा तिनलाई ध्वस्त पारिने प्रावधान राखेको छ । दक्षिण कोरियालाई विचार गरी त्यो प्रावधान राखिएको देखिन्छ । 

सन् २०१३ मा उत्तरले बनाएको कानूनलाई नयाँ कानूनले विस्थापित गरेको हो । पुरानो कानूनमा उत्तरले आणविक हतियारसम्पन्न शत्रुको आक्रमण रोक्न वा प्रत्याक्रमण गर्नका लागि मात्र आणविक हतियार उपयोग गर्ने व्यवस्था थियो । अहिले चाहिँ गैरआणविक हतियारको उपयोग रोक्नका लागि समेत आफूले आणविक हतियार प्रहार गर्न सक्ने गरी उत्तरले कानून बनाएको हो । 

द डिप्लोम्याट पत्रिकामा विश्लेषक मिच शिनले नयाँ कानूनमार्फत आणविक हतियार उपयोगको सम्भाव्यतालाई किमले विस्तार गर्दा दुईवटा परिदृश्यको निर्माण भएको बताएका छन् । पहिलो, दक्षिण कोरियाका दक्षिणपन्थी राष्ट्रपति यून सुक–योलको कार्यकालभरि उत्तरले दक्षिणसँग कुराकानी गर्ने छैन । दोस्रो, उत्तर कोरिया अमेरिकासँग सिधै भिडन्त गर्न चाहन्छ । 

तर आफू जिम्मेवार शक्ति भएको र युद्ध गर्न पनि आफूले नचाहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । त्यति हुँदाहुँदै पनि उत्तर कोरियाली जनतामाथि आमविनाशकारी आक्रमण हुन लागेको जानकारी पाएमा आणविक हतियार प्रहार गर्न सक्ने भनी उत्तरले आफूलाई खतरनाक खेलाडीका रूपमा प्रस्तुत गरेको छ ।  

त्यस अर्थमा नयाँ कानूनले उत्तर कोरियालाई अमेरिकाका लागि पहिलेको भन्दा खतरनाक शत्रु बनाएको छ । अमेरिका र दक्षिण कोरियाले गर्ने संयुक्त अभ्यासबाट नराम्ररी चिढिने गरेको उत्तर कोरियाले ती दुई देशबाट आक्रमण हुन लागेको अनुमान गरी आणविक हतियार उपयोग गर्न सक्ने सम्भावनालाई नयाँ कानूनले बढाइदिएको छ ।  

अझ उत्तरले अमेरिकाको मुख्यभूमिसम्म पुग्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र बनाइसकेको छ र त्यसमा आणविक वारहेड समेत जडान गर्न सक्ने क्षमता विकसित गरिसकेको छ । 

सन् २००६ मा पहिलोपटक आणविक हतियार परीक्षण गरेको उत्तरले अन्तिमपटक सन् २०१७ मा त्यस्तो परीक्षण गरेको थियो । अहिले पाँच वर्षको अन्तरपछि उत्तरले थप आणविक हतियार परीक्षण गर्न सक्ने आशंका विज्ञहरूले गरेका छन् । विशेषगरी अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको शिखरवार्ता विफल भएपछि उत्तरले आणविक हतियार परीक्षण कुनै पनि बेलामा शुरू गर्न सक्ने सम्भावना व्यक्त गरिँदैछ ।

बाइडन प्रशासनले चाहिँ उत्तर कोरियालाई ट्रम्पले जति पर्याप्त महत्त्व दिएकै छैन । युक्रेन युद्ध तथा चीनसँगको प्रतिस्पर्धाका कारण बाइडनले उत्तरमा ध्यान दिन नसकेका हुन् । 

बाइडन प्रशासनको ध्यान खिच्नका लागि उत्तरले सन् २०२२ मा मात्र ३० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । विगत पाँच वर्षमा पहिलोपटक उसले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र समेत प्रक्षेपण गरेको छ । 

नयाँ कानूनले उत्तरलाई आणविक हतियारसम्पन्न मुलुक बनाएको र यसबाट मुलुक पछि नहट्ने किमले बताएको भनी उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले खबर दिएको छ । किमले उत्तरको हतियार बार्गेनिङ गर्ने वस्तु नभएको स्पष्ट पारे । अर्थात्, उनी अमेरिका तथा विश्वले उत्तर कोरियाको आणविक शक्तिलाई मान्यता दिनुपर्ने सोच राख्छन् । 

अमेरिकाले उक्त मान्यता दिए हुन्छ भनी त्यहाँको वायुसेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल जेम्स क्ल्यापरले हालै एक कार्यक्रममा बताएका छन् । ओबामा प्रशासनमा डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सका रूपमा काम गरिसकेका र उत्तर कोरियाबारे राम्रो जानकारी राख्ने क्ल्यापरले इन्स्टिच्युट फर कोरियन अमेरिकन स्टडीज नामक संस्थाको कार्यक्रममा उक्त धारणा राखेका हुन् । 

उत्तर कोरियालाई प्रतिबन्ध लगाएर आणविक हतियार कार्यक्रमबाट विमुख गराउन नसकिएको यथार्थलाई स्मरण गर्दै क्ल्यापरले विश्वका नौमध्ये एक आणविक शक्ति उत्तर कोरिया पनि हो भनी अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । उनले अझ एक कदम अघि बढेर वाशिङटनमा उत्तर कोरियालाई कूटनीतिक उपस्थितिको अनुमति दिनुपर्ने र प्योङयाङमा अमेरिकाको सम्पर्क कार्यालय खोल्नुपर्ने समेत सुझाव दिएका छन् । 

उत्तर कोरियाप्रति अमेरिकाले व्यावहारिक नीति अपनाउँदै आणविक निःशस्त्रीकरणको राग अलाप्न छोड्नुपर्ने क्ल्यापरको धारणा छ । रणनीतिक धैर्य अपनाउँदै उत्तर कोरियालाई आक्रामक व्यवहार त्याग्नका लागि अमेरिकाले प्रेरित गर्नुपर्ने उनी बताउँछन् । 

तर उत्तर कोरियालाई आणविक राष्ट्रको मान्यता दिइएमा अन्य मुलुकहरूले पनि आणविक हतियार निर्माण गर्न प्रेरणा पाउने पत्रकार डोनल्ड कर्कको तर्क छ । त्यसले पूर्वी एसियामा आणविक हतियारको होड बढाउने उनी बताउँछन् । 

सबभन्दा पहिले त उत्तरबाट सिधै जोखिमको अनुभव गर्ने दक्षिण कोरिया नै आणविक हतियार निर्माण गर्न खोज्नेछ । त्यस देशका राजनीतिकर्मीहरूले यस विषयमा केही नबोलेको भए पनि सर्वसाधारणले चाहिँ दह्रो निवारकका रूपमा आफ्नै आणविक हतियार हुन जरूरी रहेको धारणा राख्ने गरेका छन् । 

गत मे महिनामा असान इन्स्टिच्युट फर पोलिसी स्टडीजले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ७०.२ प्रतिशतले दक्षिण कोरियाको आफ्नै आणविक हतियार हुनुपर्ने बताएका थिए । आणविक हतियार निर्माण गरेकोमा विश्व समुदायले प्रतिबन्ध लगाउने भए पनि दक्षिणले त्यस्तो हतियार बनाउनुपर्छ भन्ने धारणा ६३.६ प्रतिशतले राखेका थिए । 

अनि फेब्रुअरी महिनामा शिकागो काउन्सिल अन फरेन रिलेसन्सले गरेको सर्वेक्षणमा पनि ७१ प्रतिशत दक्षिण कोरियाहरूले राष्ट्रिय आणविक हतियार हुनुपर्ने बताएका थिए । अर्थात्, अमेरिकाले उपलब्ध गराउने आणविक छाताको सुरक्षामा दक्षिण कोरियालीहरूलाई भरोसा छैन । 

त्यो भरोसा नहुनुमा एउटा दह्रो कारण रहेको कोरियाली मामिलाका विश्लेषक एन्ड्रु साल्मोन बताउँछन् । उनका अनुसार, युद्ध भएछ भने अमेरिकाले उत्तर कोरियामाथि सिधै आक्रमण नगर्ने सम्भावना विकसित हुन सक्ने डर दक्षिण कोरियालीहरूले लिएका छन् । अमेरिकी आक्रमणको प्रतिकारमा उत्तर कोरियाले अमेरिकाका मुख्य शहरहरूमा आणविक आक्रमण गर्न सक्ने भएकाले त्यो जोखिम अमेरिकाले नमोल्ने उनीहरूको अनुमान छ । त्यस्तो स्थितिमा दक्षिण कोरिया आफैं विनाशको भुमरीमा पर्नेछ । 

नयाँ शीतयुद्धको आरम्भ भइसकेको सन्दर्भमा अमेरिका तथा उसका साझेदार जापान र दक्षिण कोरियाका विरुद्ध रणनीतिक प्रतिरोधका लागि उपयोगी मुलुक उत्तर कोरियाको भूराजनीतिक महत्त्व रुस र चीन दुवैलाई छ । उत्तरको आणविक क्षमतामार्फत अमेरिकालाई रणनीतिक दबाब दिन रुस र चीन दुवै इच्छुक हुनेछन् ।  

तर दक्षिण कोरियाली जनताले आणविक हतियारको इच्छा राखेको भए पनि त्यो विकास तथा उपयोग गर्न निकै कठिन छ । उससँग त्यो हतियार बनाउने क्षमता छ कि छैन अनि बनाएछ भने पनि कहाँँ परीक्षण गर्ने भन्ने प्रश्न ज्वलन्त छ । 

त्यसमाथि पूर्वी एसियाका महाशक्ति चीन र रुसले अमेरिकाको साझेदार दक्षिण कोरियालाई आणविक हतियार बनाउन देलान् र भन्ने प्रश्न पनि उठाउन सकिन्छ । उत्तरलाई जोखिममा पार्ने गरी दक्षिणले आणविक हतियार बनाउन खोजेमा रुस र चीन दुवैले त्यसमा अवरोध पुर्‍याउन सक्छन् । 

त्यसमाथि झन् नयाँ शीतयुद्धको आरम्भ भइसकेको सन्दर्भमा अमेरिका तथा उसका साझेदार जापान र दक्षिण कोरियाका विरुद्ध रणनीतिक प्रतिरोधका लागि उपयोगी मुलुक उत्तर कोरियाको भूराजनीतिक महत्त्व रुस र चीन दुवैलाई छ । उत्तरको आणविक क्षमतामार्फत अमेरिकालाई रणनीतिक दबाब दिन रुस र चीन दुवै इच्छुक हुनेछन् ।  

उत्तर कोरिया आणविक रूपमा शक्तिशाली बन्दै जाँदा अनि त्यसको आणविक हतियारको उपयोगको दायरा विस्तार गर्दा विश्वमा आणविक युद्धको त्रास झन् गहिरिएको छ ।


salt training

कमेन्ट गर्नुहोस्