२१ असार २०८३, आइतबार

आर्यन, सुफिया र कवितालाई लिएर ‘सायरा’ निर्माणको घोषणा, बलिउड निर्देशकले निर्देशन गर्ने

आर्यन, सुफिया र कवितालाई लिएर ‘सायरा’ निर्माणको घोषणा, बलिउड निर्देशकले निर्देशन गर्ने

नेपाल र भारतका निर्माताहरूको संयुक्त लगानीमा ‘सायरा’ नामक फिल्म बन्ने भएको छ । मंगलवार राजधानीस्थित होटल ¥याडिसनमा एक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्न अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ । 

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपाली लगायतका कलाकारहरूको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिट्टै जानकारी दिने निर्माण टिमको भनाइ छ । 

भिलेजब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुशी लागेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी प्लेटफर्मममा पनि रिलिज गर्ने छौँ’, कार्यक्रममा पुस्करले भने । फिल्मलाई बलिउड निर्देशक विशाल देसाइले निर्देशन गर्नेछन् । उनले भने, ‘मलाई निर्देशकको रूपमा चयन गर्नुभएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ ।’ 

फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएकोमा पुस्कर र विशाललाई धन्यवाद दिए । 

‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’, प्रस्तुतकर्ता रघु भन्छन् । 

फिल्मको आइडिया र टिमले गर्दा आफू यस प्रोजेक्टमा जोडिएको आर्यनले बताए । ‘फिल्म कसरी बन्छ ? सँगै कसरी प्रदर्शन हुन्छ ? भन्ने विषयमा यो टिम प्रष्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु’, आर्यनले भने । डान्सिङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली टिमले आफूलाई जोडिन मद्धत गरेको बताइन् । दशैं र तिहारको बीचमा छायांकन शुरू हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी निर्माण टिमले दिएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा कार्यकारी निर्मातामा काजीमान आत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए । 

कार्यक्रममा उपस्थित हुन नपाउँदा दुखी रहेको भिडियो सन्देश सुफिया सिद्दिकीले पठाएकी थिइन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताएकी छन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली– इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी छन् । 

फिल्म ‘सायरा’ लाई शुभकामना दिन चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, भारतीय उद्योगपति भावर सिंह प्लाडा, इन्द्रेश राय, कलाकार अर्चना शर्मालगायत भारतबाट नेपाल आएका थिए । 
०००
 

salt training

कमेन्ट गर्नुहोस्