
महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ ।
स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ ।
संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले बताए । विसं २०४७ मा महिलाहरूको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
महिला हिंसा, अन्यायवरुद्ध लड्ने र मानवअधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाकी पूर्वअध्यक्ष भगवती नेपालले जानकारी दिइन् ।
संस्थाका कुल एक सय ५७ सदस्य र १० सहयोगी पुरुष सदस्य रहेका व्यवस्थापक गुरुङले जानकारी दिए ।
महिला नेतृत्वको विकास गर्दै आफ्नो लक्ष्यअनुरुप स्थानीय, प्रदेश र राष्ट्रियस्तरको नीति–निर्माण तहसम्म सहभागिता र महिलाहरूको पहुँच विस्तार गर्दै आएको संस्थाले मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिकालाई लक्षित गरी आपत्कालीन पुनःस्थापना गृहसमेत सञ्चालनमा ल्याएको छ ।
गृहमा ३१ जना हिंसा, दुव्र्यवहार र बेवास्तामा परेका महिला तथा बालबालिकालाई संरक्षण दिइएको संस्थाकी अध्यक्ष सञ्चमाया स्याङबोले जानकारी दिइन् ।
भवन निर्माण गर्न नै धेरै कठिन भएको उनले बताइन् । विद्यमान विभेदपूर्ण सामाजिक संरचनामा रहेका भेदभावको अन्त्य गर्दै मानवअधिकारमा आधारित न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नु नै केन्द्रको प्रमुख लक्ष्य रहेको उनले बताइन्।
महिला तथा बालबालिकामाथि हुने भेदभाव, हिंसा, दुव्र्यवहार, मानव बेचविखन÷ओसारपसार र शोषणविरुद्ध सचेतना, सशक्तीकरण र अनुसन्धान तथा वकालत गर्ने, महिला र बालबालिकाको अधिकार स्थापना तथा रक्षाका लागि अनुसन्धान र वकालत गर्ने, नीति निर्माण तह, शिक्षा र स्वास्थ्यका क्षेत्रमा महिला तथा बालबालिकाको पहुँच वृद्धि गर्नमा संस्थाले विशेष ध्यान दिने गरेको छ ।
पैत्तृक सम्पत्तिमा महिलाको समान अधिकारको प्राप्ति एवं रक्षाका निमित्त पहल गर्ने, संस्थाको लक्ष्य प्राप्तिका लागि संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको अध्यक्ष स्याङबोले बताइन् ।
बाल मजदुरमा संलग्न बालबालिकालाई विद्यालय पहुँचमा पुर्याउने तथा बाढी, पहिरोमा पनि विभिन्न कार्यक्रम संस्थाले गरिरहेको छ । रासस